Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डेढ महिनामा ८० अर्ब कर्जा विस्तार

२०८० माघ ३ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले ८० अर्ब कर्जा विस्तार गरेका छन्। पछिल्लो डेढ महिनामा वित्तीय संस्थाहरुले ८० अर्ब कर्जा विस्तार गरेका हुन्। गत वर्षबाट सुस्त रहेको कर्जा प्रवाह मंसिरलागेसँगै बढ्न थालेको देखिन्छ। यद्यपी, डेढ महिनामा वित्तीय संस्थाले ८० अर्बले कर्जा प्रवाह बढाएका छन्।

कर्जा ठप्प पारी रिकोभरी (ऋण उठाउन)तिर केन्द्रित हुँदा गत वर्षदेखि बैंकहरुमा लगानी योग्य रकम (तरलता) थुप्रिन थालेको हो। बढ्दो खराब कर्जा घटाउन बैंकहरु लगानी ठप्प पारी रिकोभरीमा केन्द्रित हुँदा कर्जा प्रवाह खुम्चिन पुगेको थियो।

निक्षेप थपिने क्रम बढ्दै जाने र लगानी खुम्चिँदा प्रणालीमा अधिक तरलता पुगेको अवस्था छ। पछिल्लो डेढ महिनामा प्रणालीमा १ खर्ब ४५ अर्ब निक्षेप थपिएको छ। मंसिर १६ गतेसम्म बैंकिङ प्रणालीमा ५९ खर्ब ६० अर्ब निक्षेप थियो। जुन पछिल्लो डेढ महिनामा अर्थात पुस २७ गतेसम्म आइपुग्दा १ खर्ब ४५ अर्ब थपिएर ६१ खर्ब ५ अर्ब पुगेको छ।

डेढ महिनामा प्रणालीमा १ खर्ब ४५ अर्ब तरलता थपिँदा ८० अर्बले कर्जा बढाएका छन्। साथै, २०८० मंसिर १६ गते बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेकोमा पुस २७ गतेसम्म आइपुग्दा ८० अर्बले थपिएर ५० खर्ब ५८ अर्ब कर्जा पुगेको छ। कर्जा लगानी बढ्न थालेसँगै आर्थिक क्षेत्र चलायमान हुने आँकलन गर्न थालिएको छ। कर्जाको माग बढ्दै जादा निजि क्षेत्रको सक्रियता समेत बढ्न थालेका बुझिन्छ।