Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकको पूँजीकोष ९.७९ प्रतिशत

२०८० माघ १ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले उठाउन नसकेको ब्याज १ खर्ब ७४ अर्ब पुगेको छ । कात्तिकमा १ खर्ब ४७ अर्ब रहेको उठ्न नसकेको ब्याज मंसिरमा करिब पौने २ खर्ब पुगेको हो । मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी ५० खर्ब ८१ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमध्ये सावाँ ४९ खर्ब ७ अर्ब र उठ्न नसकेको ब्याज १ खर्ब ७४ अर्ब छ । ४९ खर्ब कर्जामध्ये संस्थागत ऋणीले लिएको कर्जा ३० खर्ब ९७ अर्ब र व्यक्तिगत ऋणीले लिएको कर्जा १० खर्ब १० अर्ब रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

कुल १८ लाख ५८ हजार ३ सय ५५ ऋणीले उक्त कर्जा लिएको राष्ट्र बैंकको तथ्यांक छ । मंसिरसम्म ५ करोड ३३ लाख ३ हजार ३ सय ७८ निक्षेप खाताबाट कुल निक्षेप ६० खर्ब १९ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षको अनुमानित कुल गार्हस्थ उत्पादन (जीडीपी) मा निक्षेप अनुपात १११.८५ प्रतिशत र कर्जा ९२.८७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार गत आवको अन्त्यसम्म कुल अनुमानित जीडीपी ५३ खर्ब ८१ अर्ब ३३ करोड ५० लाख छ ।

बैंकहरूको ब्याज असुली प्रभावित बन्दै गएको र मंसिर मसान्तमा मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनसाथै एफपीओको प्रिमियमबाट वितरण गरेको बोनस सेयरमा कर तिर्नुपर्दा बैंकहरूको पूँजीकोषको दबाब बढ्दै गएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट राष्ट्रियस्तरका विकास बैंकका लागि ‘पूँजी पर्याप्तता फ्रेमवर्क २०१५’ लागु गरेको छ । जसअनुसार राष्ट्रियस्तरका विकास बैंकले पनि वाणिज्य बैंकले जस्तै ८.५ प्रतिशत न्यूनतम प्राथमिक पूँजीकोष र कुल पूँजीकोष ११ प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

यस्तै चालु आर्थिक वर्षबाट नै वाणिज्य बैंकका लागि पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ मा भएको काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको छ । जसअनुसार बैंकले प्राथमिक पूँजीबाट नै ०.५ प्रतिशत अतिरिक्त पूँजीकोष कायम गर्नुपर्ने हुन्छ । प्राथमिक पूँजीबाट ८.५ प्रतिशतमा २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरूले काउन्टर साइक्लिकल बफरबाट सहित ९ प्रतिशत प्राथमिक पूँजीकोष कायम गर्नुपर्ने हुन्छ ।

कर्जा रिकभरीमा समस्या भएर बैंकहरू सञ्चित नोक्सानीमा जाँदा प्राथमिक पूँजीमा दबाब बढ्दै गएको छ । मंसिरमा एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनबाट बोनस सेयर दिएका बैंकले कर भुक्तानी गरेको र रिकभरीमा समेत दबाब हुँदा वाणिज्य बैंकहरूको औसत प्राथमिक पूँजीकोष नै १० प्रतिशतबाट तल झरेको छ ।

कात्तिक मसान्तमा वाणिज्य बैंकको औसत प्राथमिक पूँजीकोष १०.११ प्रतिशत रहेकोमा मंसिर मसान्तमा आउँदा ९.७९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । असोजमा १०.१४ प्रतिशत रहेको प्राथमिक पूँजीको कात्तिक र मंसिरमा खासै कर्जा विस्तार नहुँदासमेत असोजको तुलनामा मंसिर मसान्तमा आउँदा वाणिज्य बैंकको औसत पूँजीकोष ०.३५ बिन्दुले घटेको छ ।

असोजपछि केही बैंकले नगद लाभांशका रूपमा क्यासआउट गर्दा पनि प्राथमिक पूँजीकोषमा दबाब परेको हो । कात्तिक र मंसिरमा नगद लाभांशका रूपमा बैंकहरूको पूँजीकोषबाट ठूलो रकम क्यासआउट नभएको हुँदा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको प्रिमियमबाट बोनस सेयर जारी गरेको कर भुक्तानीले नै बैंकहरूको प्राथमिक पूँजीकोषमा दबाब बढ्दै गएको एक बैंकरले बताए । राष्ट्र बैंकले तोकेको प्राथमिक पूँजीकोष कायम गर्न नसक्ने बैंकलाई लाभांश वितरणमा रोक लगाउँदै आएको छ ।

असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल पूँजीकोष ७ खर्ब ५० अर्ब रहेकोमा मंसिर मसान्तमा आउँदा ७ खर्ब ४१ अर्ब ५२ करोडमा झरेको छ ।

चालु आर्थिक वर्ष मंरिसम्म बैंक तथा वित्तीय संस्थाको कुल नाफा ३० अर्ब ९२ करोड पुगेको छ । कात्तिक मसान्तमा २२ अर्ब ६२ करोड नाफा कमाएकोमा मंसिरमा बढेको छ । नाफा वृद्धि हुँदा पनि बैंक तथा पूँजीकोषमा गिरावट भएको छ । असोजमा बैंक तथा वित्तीय संस्थाको कुल नाफा १४ अर्ब ८६ करोड रहेकोमा पुसमा बढेको छ । नाफा बढेसँगै बैंकहरूको कुल पूँजीकोषमा वृद्धि हुनुपर्नेमा घटेको देखिन्छ ।

मंसिरसम्म वाणिज्य बैंकहरूको मात्रै नाफा करिब २८ अर्ब ३७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ९६ करोड नाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले २ अर्ब ७४ करोड र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ६१ करोड नाफा आर्जन गरेको छ ।