सोमबार नेपाल स्टक एक्सचेन्जमा ७८ करोडभन्दा माथिको कारोबार भएको छ । दिनभरिमा एक सय ३१ वटा कम्पनीको आठ लाख ५६ हजार छ सय ८८ कित्ता सेयर चार हजार एक सय ७८ पटक खरिदविक्रि हुँदा कुल ७८ करोड नौ लाख एक हजार एक सय १६ रुपैयाँ पुँजी परिचालन भएको हो । कारोबार रकम आइतबारको तुलनामा बढेको हो । आइतबार ७३ करोडमाथिको कारोबार भएको थियो ।
कारोबारसँगै परिसूचक पनि केही समययता सुधारको क्रममा रहेको छ । सोमबार नेपसे परिसूचक ६.२८ अंकले बढेर १७०६.२८ अंकमा कायम भएको छ । बीमा, उत्पादनमूलक, बैंकिङ, होटल र फाइनान्स समूहले आइतबारको बजारलाई उचालेका छन् । सबैभन्दा धेरै बीमा समूह ४३.२५ अंकले बढेको छ भने उत्पादनमूलक समूह १२.५५ अंकले बढेको छ । बैंकिङ, फाइनान्स र होटल क्रमशः ८.९४, ७.६२ र ७.०९ अंकले बढेका छन् । विकास बैंक, जलविद्युत् र अन्य भने क्रमशः ५.२८, ३.५६ र १.४५ अंकले घटेका छन् ।
आइतबार लगानीकर्ताको अत्याधिक चाप रहेको एभरेष्ट बैंकमा सोमबार पनि सोही क्रमले निरन्तरता पाएको छ । बैंकको १२ करोड ३५ लाख ३३ हजार चार सय ८० रुपैयाँको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पौने आठ करोडको कारोबार हुँदा शिखर इन्स्योरेन्सको पनि छ करोडमाथिको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको चार करोडमाथिको कारोबार भएको छ भने सिभिल बैंकको दुई करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंकको अढाई करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको झन्डै दुई करोडको कारोबार हुँदा कुमारी बैंकको डेढ करोडको कारोबार भएको छ ।
शुभेच्छा विकास बैंकलाई गाभेर सोमबारदेखि नै सेयर कारोबार सुरु गरेको गरिमा विकास बैंकका सेयरधनीले ९.८३ प्रतिशतका दरले सम्पत्ती बताएका छन् । अरुण भ्याली हाइड्रोपावरका सेयरधनीले पनि ९.१८ प्रतिशतका दरले सम्पत्ती बढाएका छन् । नागबेली लघुवित्तका सेयरधनीले ६.५३ प्रतिशतले कमाएका छन् भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.३१ र प्रभु इन्स्योरेन्सका सेयरधनीले ४.७२ प्रतिशतले कमाएका छन् । सृजना फाइनान्स, सिद्धार्थ बैंक, बोटलर्स नेपाल, गुडविल फाइनान्स, नमस्ते वित्तीय संस्था लगायतका सेयरधनीले पनि कमाएका छन् ।
साझा विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.९२ प्रतिशतका दरले आफ्नो सम्पत्ती घटाएका छन् । ओम डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, रुरल माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, सनराइज बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, वरियन्टल होटल लगायतका सेयरधनीले पनि गुमाएका छन् ।