
बैंकिङ खबर/ सरकारले थप ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। सरकारले विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको हो। आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो।
केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको हो। यस ऋणपत्रका लागि आज आइतबार पुस २२ गते दिउँसो २ बजे बोलकबोल हुने भएको छ।
यसको निष्कासन मिति भने पुस २३ गते तोकिएको छ। ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ। इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ।
ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ। ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्।
यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन्। चालू आवमा सरकारले ६९ अर्ब २४ करोड आन्तरिक ऋण उठाइसकेको छ।




