Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निरन्तर निक्षेप संकलन : अन्तर बैंक ब्याज बढ्यो

२०८० पुष २० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन गर्दा अन्तर बैंक ब्याजदर बढ्न थालेको छ । अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले मंसिर ६ गतेदेखि बोलकबोल विधिबाट बजारमा भएको निक्षेप संकलन गर्न शुरु गरेको थियो ।

राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन गर्दा अन्तर बैंक ब्याजदर बढ्नुको साथै निक्षेप संकलन दरमा राष्ट्र बैंकमा पैसा राख्ने बैंकहरुको संस्था घट्न थालेको छ । मंसिर ६ गते राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गर्दा बैंकहरुले ३७ करोड रुपैयाँ राख्ने प्रस्ताव पेस गरेका थिए ।

मंसिर ६ गते राष्ट्र बैंकले १.६ प्रतिशतदेखि २.१७ प्रतिशतसम्म ब्याज दिँदै १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । राष्ट्र बैंकले मंसिर १२ गते फेरि १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गर्दा बैंकहरुले ३९ करोड ६० करोड रुपैयाँ निक्षेप राख्ने प्रस्ताव पेस गरेका थिए ।

राष्ट्र बैंक कम ब्याजदरमा निक्षेप राख्न तयार हुने बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप राख्दै १.२४ प्रतिशत देखि १.१० प्रतिशतसम्म ब्याज दिएको थियो । मंसिर १४ गते १५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान हुँदा ४० अर्ब १० करोड रुपैयाँ निक्षेप राख्ने प्रस्ताव पेस भएको थियो ।

त्यसदिन राष्ट्र बैंकले १.१६ प्रतिशतदेखि ०.९९ प्रतिशत ब्याज माग्नेको निक्षेप राखेको थियो । मंसिर २१ गते बैंकहरु ०.४९ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका थिए ।

पुस १६ गते अन्तर बैंक ब्याजदर २.८ प्रतिशत भएपछि राष्ट्र बैंकले पुस १८ गते बोलकबोल विधिबाट १४ दिन अवधिको २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको थियो । तर, बैंकहरुले १९ अर्ब ९० करोड रुपैयाँ मात्रै राष्ट्र बैंकमा राख्ने प्रस्ताव पेस गरेका थिए ।

बैंकहरुले ३ प्रतिशतभन्दा बढी ब्याज मागेपछि राष्ट्र बैंकले १४ अर्ब ७० करोड रुपैयाँ मात्रै संकलन गरेको छ । बुधबार राष्ट्र बैंकले औषतमा ३ प्रतिशत ब्याज दिने र २.५९ देखि ३.११ प्रतिशत ब्याज माग गर्ने बैंकहरुको निक्षेप संकलन गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले मंसिर २८ गतेयता ३ प्रतिशत कट अफ रेट निर्धारण गर्दै बजारबाट निक्षेप संकलन गरिरहेको छ । अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि नभएकाले बिहीबारसमेत राष्ट्र २१ दिन अवधिको २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैंकले मंसिरयता १७ पटक निक्षेप संकलन गरिरहेको छ । विगतमा ७ र १४ दिन अवधिको निक्षेप संकलन गरिरहेको केन्द्रीय बैंकले बिहीबार पहिलोपटक २१ दिन अवधिका लागि निक्षेप संकलन गर्न थालेको हो ।