
बैंकिङ खबर/वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर घट्न थालेको छ । बाह्य क्षेत्रमा सुधार आइरहेको र रेमिट्यान्समासमेत वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको पर्याप्तता बढ्न थालेको छ ।
निक्षेपमा उल्लेख्य वृद्धि हुँदै जाँदा कर्जासमेत सस्तिँदै गइरहेको तथ्यांकले देखाएको छ । मंसिर महिनामा ९.७१ प्रतिशत औसतमा व्यक्तिगत मुद्दती ब्याजदर रहेको २० वटा वाणिज्य बैंकहरूले पुसमा ८.९९१ प्रतिशत ब्याज कायम गरेका छन । समग्रमा बैंकहरूको औसत ब्याजदर ०.६२ प्रतिशत विन्दुले घटेको छ ।
बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेका छन्। कतिपय बैंकहरुले प्रिमियम छुट दिएर समेत कर्जा प्रवाह गरिरहेका छन। एनआईसी एसिया बैंकले कर्जामा ३ प्रतिशत मात्रै प्रिमियम लिने सूचना समेत जारी गरीसकेको छ।
बैंकहरूबाट ग्राहकले कर्जा लिँदा ब्याजदर निर्धारण गर्दा आधार दरमा मोलमोलाई गर्न पाउँदैनन्। बैंकले ग्राहकको सम्बन्ध र मोलमोलाई क्षमताअनुसार प्रिमियममा थपघट गरेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। त्यसैले ग्राहकले पहिले नै थोरै आधार दर भएका बैंक रोजेर कर्जा लिनु उपयुक्त हुन्छ।
मंसिरको तुलनामा पुसमा कुमारी बैंकको कर्जाको ब्याजदर सस्तिएको छ। कुमारी बैंकको आधार दर १०.७८ प्रतिशत रहेको छ। हाल बैंकले आधार दरमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडर कर्जा दिँदै आइरहेको छ।
बैंकले पुस १६ गतेपछि प्रिमियम ३.५ प्रतिशत लिने सूचना जारी गरेको छ। मंसिरमा यस बैंकको आधार दर १०.८९ प्रतिशत थियो।
सानिमा बैंकको आधार दर ९.५९ प्रतिशत रहेको छ। मंसिरमा बैंकको आधार दर ९.७७ प्रतिशत थियो। मंसिरको तुलनामा बैंकको आधार दर घटेपछि कर्जाको ब्याजदर समेत कम भएको छ।
त्यसैगरी, नेपाल एसबीआई बैंकको आधार दर ९.९३ प्रतिशत छ। मंसिरमा बैंकको औषत आधार दर १०.०७ प्रतिशत थियो।
सिटिजन्स बैंकको आधार दर घटेको छ। मंसिरको तुलनामा पुसमा बैंकको आधार दर ०.२३ प्रतिशत विन्दुले घटेको छ। पुसमा बैंकको आधार दर १०.३९ प्रतिशत रहेको छ।
नबिल बैंकको बेसरेट ९.३० प्रतिशत, लक्ष्मी सनराइज बैंकको १०.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.६६ प्रतिशत, प्रभु बैंकको ९.६६ प्रतिशत, स्टान्डर्ड चाटडर्ड बैंकको ८.२२ प्रतिशत छ।
त्यसैगरी हिमालयन बैंकको १०.६२ प्रतिशत, एभरेष्ट बैंकको ९.२१ प्रतिशत, माछापुच्छे बैंकको ९.८६ प्रतिशत, एनएमबि बैंकको ९.९० प्रतिशत, नेपाल बैंकको ९.०५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८.३९ प्रतिशत, सिद्धार्थ बैंकको ९.५ प्रतिशत र ग्लोबल आइएमई बैकको आधार दर ९.८ प्रतिशत रहेको छ।