
बैंकिङ खबर/जिल्ला सहकारी संघ लि., काठमाडौंकी सञ्चालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनले नेफ्स्कूनको सञ्चालक पदमा उम्मेद्वार बन्ने घोषणा गरेकी छन् ।
उनले विद्यालय शिक्षा पूरा गरेपछि सहकारी क्षेत्रमा पाइला टेकेसँगै आफूलाई सहकारी क्षेत्रले धेरै मान, सम्मान र इज्जत दिएकोले त्यसको सम्मान गर्दै सहकारी क्षेत्रलाई थप सम्मानित क्षेत्र बनाउन योगदान पुर्याउने उद्देश्यले नेफ्स्कूनको सञ्चालक पदमा उम्मेद्वार बन्न लागेको बताएकी छन् ।
बचत तथा ऋण सहकारी अभियानलाई एकताबद्ध बनाएर यसलाई थप व्यवस्थित र मर्यादित बनाई यसको विकास र प्रवर्दधनमा सक्दो पहल र प्रयत्न गर्न आफू नेफ्सकूनको सञ्चालक पदमा उम्मेद्वार बन्न आवश्यक रहेको उनको भनाइ छ ।
वि.सं. २०५६ चैत्र २६ गते कर्मचारीको रुपमा सहकारी अभियानमा प्रवेश गरेकी महर्जनले विगत १५ वर्षदेखि समुदायमा आधारित रहेर सञ्चालन भइरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि., सितापाइला, काठमाडौं कुशलतापूर्वक नेतृत्व गर्दै आएकी छन् भने जिल्ला सहकारी संघ लि.,काठमाडौंको दोश्रो पटक सञ्चालक पदको जिम्मेवारी बहन गरिरहेकी छन् ।
उनले दुई पटक राष्ट्रिय सहकारी बैंक लि.को केन्द्रीय लैंगिक समानता उपसमितिको सदस्य तथा सहकारी सञ्जालहरुको नेतृत्व तहमा समेत रहेर सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएकी छन् ।
पछिल्लो समय सहकारीमा देखिएका बेथिति तथा सहकारीविरुद्ध सुनियोजित ढंगबाट भइरहेका अनर्गल प्रचारको विरुद्ध खडा भएर सहकारी क्षेत्रलाई बचाएर यसलाई मर्यादित बनाउनुपर्छ भनेर सक्रिय महर्जन सहकारी मार्फत हुनेखानेसँगै हुँदाखानेको जीवनस्तर माथि उठाउनुपर्छ र सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रको नेतृत्व तहमा महिलाहरुलाई पुर्याउनुपर्छ भन्ने मान्यताका साथ क्रियाशील छन् ।
सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्रिय महर्जन सहकारीलाई सरकारले देशको समृद्धिको आधार बनाएर सहकारी मार्फत उत्पादन र रोजगारी श्रृजना गरी देशबाट आर्थिक मन्दी हटाउनु पर्नेमा जोड दिँदै आएकी छन् ।
सहकारीको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएकी महर्जन सहकारी प्रशिक्षकको रुपमा पनि क्रियाशील छन् । सहकारी क्षेत्रमा पु-याएको योगदानकै कारण उहाँ विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भएकी छन् ।