December 11th, 2023

बैंकले घटाउन थाले ब्याजदर

बैंकिङ खबर/वाणिज्य बैंकहरुले ब्याजदर घटाउन थालेका छन्। कुमारी, एनआइसी एशियापछि सोमबार एनएमबीले ब्याजदर घटाएको छ। मौद्रिक नीतिको समीक्षापछि बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका हुन् ।

केन्द्रीय बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा गरेसँगै शनिबारदेखि नै बैंकहरुले ब्याजदर घटाएर सूचना प्रकाशित गर्न थालेका हुन् । कुमारी बैंकले शनिबार अघिल्लो महिनाको तुलनामा करिब १ प्रतिशत विन्दुले ब्याजदर घटाएर नयाँ ब्याजदर तोकेको छ।

मंसिरमा ६ महिनाभन्दा बढीको मुद्दती निक्षेपको ब्याजदर १०.०१ प्रतिशत तोकेको बैंकले मंसिर २५ गतेदेखि नै लागु हुने गरी प्रकाशित गरेको ब्याजदरमा ६ महिनादेखि १ वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.०१ प्रतिशत तोकेको छ। १ वर्षभन्दा बढी अवधिको ब्याजदर भने ९.६१ प्रतिशत तोकेको छ।

यसैगरी, एनआइसी एशिया बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतमा झारेको छ। बैंकले आइतबार प्रकाशित गरेको सूचनामा ३ देखि ६ महिनासम्मको मुद्दती निक्षेपको ब्याजदरलाई ७ प्रतिशतमा झारेको छ। बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दतीमा भने ८.६७ प्रतिशत ब्याज दिने जनाएको छ।

हालसम्म बैंकले सबै खालको मुद्दती निक्षेपमा ८.९६ प्रतिशत ब्याज दिँदै आएको थियो। मौद्रिक नीतिको समीक्षासँग बैंकले ब्याजदर घटाएर सूचना निकालेको हो। यो ब्याजदर पुस १ गतेदेखि लागु हुने बैंकले जनाएको छ।

यसैगरी, एनएमबि बैंक लिमिटेड सोमबार मात्रै नयाँ ब्याजदर प्रकाशित गरेको छ। नयाँ सुचना अनुसार बैंकले ब्याजदर घटाएको छ। बैंकको घटेको ब्याजदर आजबाट लागु हुनेछ।

बैंकले अब अधिकतममा ९ प्रतिशत दरमा ब्याज दिने भएको छ। बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो।

बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको सो दरमा ब्याज दिने भएको हो। संस्थागत तर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशतमा झारेको थियो।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]