Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

वाणिज्य बैंक घोटाला प्रकरणः सर्वोच्चबाट पनि दोषी ठहर

२०८० मंसिर १३ गते

बैंकिङ खबर/ सर्वोच्च अदालतले दुई दशकअघिको राष्ट्रिय वाणिज्य बैंक भ्रष्टाचार मुद्दामा आरोपितलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको छ । सर्वोच्चले विराटनगरका मंगतुराम व्यवसायी समूहका चार दाजुभाई र राष्ट्रिय वाणिज्य बैंकका चार कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको भ्रष्टाचार मुद्दामा व्यवसायी मंगतुराम अग्रवाल र उनका छोराहरु सुबोध कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, कृष्ण कुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई दोषी ठहर गरेको थियो । तर ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो । अब उनीहरु १÷१ वर्ष कैद बस्नुपर्नेछ ।

गलत ढंगले ऋण प्रवाह गरेको आरोपमा राष्ट्रिय बाणिज्य बैंकको विराटनगर रानी शाखाका ६ जना कर्मचारीहरु पनि दोषी ठहर भएका छन् । उक्त बैंकको रानी शाखाका प्रबन्धकहरु राधाप्रसाद साह र शिवचरण मण्डल, सहायक प्रवन्धक चन्द्रलाल अमात्य, लेखा अधिकृत भैरवप्रसाद पोखरेललाई विशेष अदालतले ६÷६ महिनाको कैद सजाय सुनाएको थियो । बैंकका सहलेखा अधिकृत बीरेन्द्रलाल छोटे र कामू सहलेखा अधिकृत श्यामकुमार श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको रानी शाखाबाट कर्जा सुविधा पाउने मंगतुरामले नक्कली र झुटो कागजातका आधारमा ऋण लिएको निष्कर्षसहित १९ जेठ, २०६२ सालमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो । मंगतुराम समूह अन्तर्गत रहेका विभिन्न कम्पनी र फर्महरुलाई ऋण दिँदा कर्मचारीसँग मिलेमतो भएको अख्तियारको दावी थियो । बैंकिङ कानुन तथा नीति नियम विपरीत ऋण प्रवाह भएको भन्दै अख्तियारले १ अर्ब ३७ करोड विगो मागदावी गरेको थियो ।

अख्तियारले उक्त रकम असुल गर्न र ऋण असुली हुने दिनसम्मको ब्याजसमेत लिन माग गरेको थियो । उक्त ऋण असुली हुन नसके कर्मचारीको सम्पत्तिबाट भएपछि भराउनुपर्ने अख्तियारको मागदाबी थियो । २०६२ सालमा दर्ता भएको मुद्दा ८ वैशाख २०६८ सालमा विशेष अदालतले फैसला गरेको थियो ।