Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

३० करोड भन्दा कम चुक्तापुँजी हुने वित्तीय कम्पनीले घरजग्गा तथा गाडीमा लगानी गर्न नपाउने

२०८० मंसिर ११ गते

बैंकिङ खबर/अब ३० करोड रुपैयाँ भन्दा कम चुक्तापुँजी हुने बैंक तथा वित्तीय संस्थाले घरजग्गा तथा सवारी जस्ता हायर पर्चेजमा ऋण लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० चौथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पुँजीको सम्बन्धमा थप व्यवस्था गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्तापुँजी (साधारण शेयर) ३० करोड रुपैयाँ हुनुपर्ने बताएको छ । यस्तै हायर पर्चेज कर्जा दिन स्वीकृति लिने कम्पनीहरुले आफ्नो खुद सम्पत्ति (नेट वर्थ) को १० गुणा भन्दा बढी ऋण तथा सापटी लिन पाउने छैनन् । यस प्रयोजनको लागि खुद सम्पत्ति भन्नाले कम्पनीको चुक्ता पुँजी, स्वतन्त्र कोषहरु र नाफा नोक्सान मौज्दातको कुल रकम मानिने केन्द्रीय बैंकले जनाएको छ ।

कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ भने कर्जा प्रवाह गर्दा धितो मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ । यस्तै, २५ लाख रुपैयाँ माथिको हायर पर्चेज कर्जामा ऋण प्रवाह गर्ने कम्पनीले ऋणको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।