November 11th, 2016

चार दिनको कारोबारमा ६५.०४ अंकले घट्यो सेयर बजार

stockयो साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ७० करोड ८० लाख रुपैयाँको कारोबार भयो । साताको सुरुदेखि नै दोहोरो अंकले घटिरहेको बजार अन्तिम दिनमा आएर सामान्य अंकको वृद्धिसँगै बन्द भयो । साताको आइतबार सार्वजनिक विदा परेकाले कारोबार भएन । सोमबार २२.८४ अंकले घटेको बजार मंगलबार २४.६३ अंकले घट्यो । बुधबार २७.६३ अंकले घटेको बजार विहीबार भने सामान्य ०.३१ अंकले बढेर १६९७.१७ अंकमा कायम भयो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १७६२.२१ अंकमा थियो । यस आधारमा हेर्दा यो साता नेप्से परिसूचक ६५.०४ अंकले घटेको देखिन्छ ।

गत साता विहीबार एक दिन मात्रै नेप्से कारोबार भएको थियो । तिहारपछि पहिलो पटक कारोबार खुलेको उक्त दिन सेयर बजार सामान्य अंकले बढेपछि लगानीकर्तामा केही हदसम्म आशा पलाएको थियो । यद्यपि, यो साताको बजार खुलेको दिनदेखि नै बजार लगातार दोहोरो अंकले घट्यो । लगानीकर्तामा फेरि निराशा छायो । तर, साताको अन्तिम दिन आएर बजारले पुनः आशा जगाएका छ । विज्ञहरुले अब वृद्धिको क्रमले निरन्तरता पाउने विश्लेषण गरेका छन् । 

कारोबारका आधारमा हेर्दा, कारोबार खुलेको पहिलो दिन सोमबार ६८ करोडको कारोबार भएको बजारमा मंगलबार ७६ करोडको कारोबार भयो । बुधबार ६८ करोडको कारोबार भएको बजार विहीबार ७० करोडको कारोबार भयो । समग्रमा साताभर दुई अर्ब ८३ करोड ९८ लाख ४० हजार दुई सय ५३ रुपैयाँ पुँजी परिचालन भएको देखिन्छ । 

यो साता, सिभिल बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी, शिखर इन्स्योरेन्स, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक लगायतको धेरै कारोबार भयो । लक्ष्मी लघुवित्त, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक, सृजना फाइनान्स लगायतका सेयरधनीले राम्रै कमाई गरे । मुक्तिनाथ विकास बैंक, आईएलएफसी माइक्रोफाइनान्स लगायतमा सेयर हुनेले गुमाए ।

समग्रमा हेर्दा, यो साता सेयर बजारमा निकै उतारचढाव आयो । कुनै पनि कम्पनीका लगानीकर्ताको उल्लेख्य आकर्षण रहेन । कुनै कम्पनीका सेयरधनीले उल्लेख्य रुपमा कमाएनन् । अमेरिकी राष्ट्रपतिको चुनाव र भारत सरकारको ५ सय र १ हजार दरका नोट बन्द गर्ने निर्णयले नेपाल सेयर बजारमा प्रभाव परेको हो । यस्तो प्रभाव नेपाली सेयर बजारमा मात्र नभएर विश्व सेयर बजारमा नै देखिएको छ ।