Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घट्योः बैंकर्स संघ

२०८० कार्तिक २० गते

बैंकिङ खबर/ नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताएको छ । संघका अध्यक्ष सुनिल केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी बढ्न नसकेको बताए । सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको तथ्य प्रस्तुत गरे ।

गत आवको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आवकोअसोज मसान्तसम्म १६ अर्ब पुगेको उनको भनाइ छ । चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको केसीले बताए ।

केसीले आर्थिक मन्दीको असर बैंकमा परेको बताए । दक्षिण एशियाली देशसँग तुलना गर्दा नेपाली बैंक ठिक अवस्थामा रहेको उनले बताए । नेपालमा भन्दा विदेशमा ब्याजदर बढी रहेको उनको भनाइ छ । नेपालमा पछिल्लो समय ब्याजदर घटेको छ । लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको उनले बताए । स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोही अनुसार बैंकहरुले काम गरेको उनको भनाइ छ ।

एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितकालाई ५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाको जानकारी दिए । केसीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कात्तिक २३ र २४ गते संघले एसियन बैंकर्स कन्फरेन्स आयोजना गर्ने भएको छ । सो कार्यक्रममा बढ्दो ब्याजदर, डिजिटल ट्रान्सफरमेसनको बारेमा छलफल हुने उनले बताए । उक्त कार्यक्रममा विभिन्न देशका ७० जना सीईओको सहभागिता रहने उनले जानकारी दिए ।

हिमालयन बैंकका सीईओ अशोक शमशेर जबराले नेपालमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना हुन लागेको बताए ।