Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दशैंमा राष्ट्र बैंकको ढुकुटीबाट ६० अर्बभन्दा बढी रकम बाहिरियो

२०८० कार्तिक १२ गते

बैंकिङ खबर/ दशैंमा नेपाल राष्ट्र बैंकको ढुकुटीबाट ६० अर्बभन्दा बढी रकमबाहिरिएको छ । दशैंमा नयाँ नोट वितरणका लागि यो रकम ढुकुटीबाट चलनचल्तीका लागि बजारमा आएको हो । दशैँपछि करिब ७ खर्ब रकम बजारको चलन चल्तीमा आएपनि मुद्रा आपूर्ति भने स्थीर छ ।

राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र पहिले प्रयोगमा आइसकेका गरी ६० अर्ब बराबरको नोट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । दशैंको अवसरमा करिब ६० अर्ब बराबर नोट बाहिरिएपछि चलनचल्तीमा पनि नोटको कारोबार बढेको छ । दशैँ अघि ६ खर्ब ३३ अर्ब बजारमा रहेकोमा दशैँपछि चलनचल्तीमा ६ खर्ब ९३ अर्ब रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको अनुमान छ ।

यो अनुमानित विवरण हो । दशैँमा कति नोट बजारमा गए भन्नका लागि राष्ट्र बैंकले बाणिज्य बैंकहरुसँग विवरण मागेको छ । बैंकहरूको सबै विवरण आएपछि मात्र दशैंको अवसरमा ६० अर्ब बराबर रकम ढुकुटीबाट बाहिरिएको हो अरू पनि गएको छ भन्ने कुरा थाहा हुनेछ । दशैंमा बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणमा रकम गएको छ ।

राष्ट्र बैंकका अनुसार दशैं र तिहारमा हरेक वर्ष औसत ६० देखि ७० अर्ब बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये करिब १५ अर्ब मात्र सर्वसाधारणमा जाने गरेको थियो । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्दै आएका थिए । यो पटक सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै लगेका छन् । सयभन्दा माथि ५ सय र हजार दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकको भनाइ छ ।

नयाँ नोट सटही गर्दा पुरानो पैसा राष्ट्र बैंकमा आउने भएकाले बजारमा मुद्रा आपूर्ति भने नबढ्ने राष्ट्र बैंकले जनाएको छ ।