Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विकास ऋणपत्रको ब्याजदर स्थिर

२०८० आश्विन २६ गते

बैंकिङ खबर/विकास ऋणपत्रको ब्याजदर स्थिर रहदै आएको छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न नसक्दा लगानीका अन्य बिकल्प नभएपछि विकास ऋणपत्रको ब्याजदर स्थिर रहेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता तथा कर्जा लगानी योग्य रकम अधिक छ । अर्थतन्त्रमा देखिएको सुस्तताले कर्जाको माग बढ्न नसक्दा वित्तीय प्रणालीमा कर्जा लगानी योग्य रकम तरलताको अवस्था सहज छ । कर्जाको माग नभएपछि बैंक-वित्तीय संस्थाले सरकारी ऋणपत्रको लगानीमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

बैंकहरुले निक्षेपलाई आइडियल राख्न भन्दा थोरै नै भएपनि आम्दानी हुने गरी सरकारी ऋणपत्रमा लगानी गर्ने प्रतिस्पर्धा गर्दा अल्पकालिन ब्याजदरहरु पनि घट्दो क्रममा छन् । बैंक तथा वित्तीय संस्थाले विकास ऋणपत्रको ब्याजदर बढाउन ब्याजदर बढेर बोलकबोल गरेका थिए । तर, केन्द्रीय बैंकले ब्याजदर बढाउन मानेन । त्यो अवस्थामा केन्द्रीय बैंकले निष्कासन गरेको सबै विकास ऋणपत्र बिक्री नभए नगर्ने अडान लिइ ब्याजदर यथावत नै राख्यो । केन्द्रीय बैंकले नबढाएपछि बैंकहरुले सोही अनुसार ७ प्रतिशतमा खरिद गर्न थालेका हुन् ।

वित्तीय क्षेत्रमा तरलता अवस्था सहज भएको अवसर पारेर सरकारले चालु आर्थिक वर्षको हालसम्म १२ पटक गरेर करिब एक खर्ब रुपैयाँ विकास ऋण संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षको पहिलो विकास ऋणपत्रको कट अफ रेट ६.५ प्रतिशतमा बिक्री गरेको भएपनि त्यसपछिका सबैको कट अफ रेट ७ प्रतिशत कायम गरेको छ । सरकारका तर्फबाट केन्द्रीय बैंकले ब्याजदर नियन्त्रण गर्दै लागत समेत कम गरेको हो ।

चालु आर्थिक वर्षको असोज २५ गतेसम्ममा सरकारले ९२ अर्ब ३१ करोड रुपैयाँ बरावरको विकास ऋण संकलन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले विकास ऋणपत्र जारी नै गरेको थिएन । गत आवमा विकास ऋणपत्रको ब्याजदर हेर्दा करिब ११ देखि ६.३५ प्रतिशतसम्म रहेको केन्द्रीय बैंकले जनाएको छ । बिहीबार निष्कासन भएको ८ वर्ष अवधिको १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्रका लागि २९ अर्ब ७१ करोड रुपैयाँ बराबरको आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ ।