
बैंकिङ खबर/ खातामा रकम नभई चेक काट्नेमा दुई वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ। संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव गरिएको हो। यसरी चेक अनादरको मुद्दामा खातावालालाई बिगोको पाँच प्रतिशत रकम जरिवाना र कैद सजाय हुनेछ ।
प्रस्तावित विधेयक पारित भएमा बिगो रकमको ५ प्रतिशत बराबर जरिवाना र एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ। पाँच लाख रूपैयाँसम्म बिगो भए एक महिना कैद हुनेछ। त्यस्तै, पाँच लाखमाथि १० लाखसम्मको बिगोमा तीन महिनासम्मको कैद हुनेछ। १० लाखमाथि ५० लाख रूपैयाँसम्मको बिगोमा ६ महिना कैद र ५० लाख माथिको बिगोमा दुई वर्षसम्म कैद सजाय हुनेछ। विधेयकअनुसार चेकमा रहेको रकम भुक्तानी दिनेको खातामा नभए चेक धारकलाई नै सो चेक फिर्ता दिनु पर्नेछ।


