
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै नेपालमा भारतीय रुपैयाँ (भारु)सम्बन्धी भएका विभिन्न व्यवस्थाहरु सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकका अनुसार नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत छ।
यसैगरी भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजारबराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन÷लैजान सकिन्छ भने योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ।
कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।





