Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लघुवित्तमा बहुबैंकिङको समस्या व्यापक

२०८० आश्विन ४ गते

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुमा बहुबैंकिङको समस्या व्यापक देखिएको एक प्रतिवेदनले देखाएको छ । लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले उक्त निष्कर्ष निकालेको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले अन्तिम प्रतिवेदन तयार पारेको छ । अध्ययन समितिले प्रारम्भिक प्रतिवेदन साउन पहिलो साता नै गभर्नर महाप्रसाद अधिरकारीलाई बुझाएको थियो।

अध्ययन समितिको अन्तिम प्रतिवेदनले लघुवित्तमा बहुबैंकिङको समस्या व्यापक रहेको देखाएको छ। एउटै ब्यक्तिले एकै समयमा धेरै संस्थाबाट ऋण (मल्टिपल बरोइङ) गरेको प्रतिवेदनमा उल्लेख छ।

अध्ययन समितिका संयोजक एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले लघुवित्त वित्तीय संस्थाको समस्या र सुझावसहितको अन्तिम प्रतिवेदन तयार भइसकेको बताउँदै गभर्नरलाई बझाउन बाँकी रहेको उल्लेख गरे। उनका अनुसार समय मिले यो साता नै प्रतिवेदन बुझाउने तयारी छ।

अन्तिम प्रतिवेदनमा लघुवित्तका विद्यमान समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाको कार्य सञ्चालन ढाँचा पनि परिमार्जन गर्नेसम्मको सुझाव समेटिएको छ ।

हाल सञ्चालनमा रहेका लुघवित्त वित्तीय संस्थाको कार्य सञ्चालन विधि पुरानो भइसकेको छ। अब नयाँ दिशाबाट ती संस्था सञ्चालन गर्नुपर्ने देखिएको श्रेष्ठले बताए।

आर्थिक वर्ष २०८०÷८१को मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिको अध्ययन प्रतिवेदनका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै लगिने भनिएको छ।