Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भदौमा बैंकहरुमा निक्षेप सवा खर्ब थप हुँदा ४४ अर्ब कर्जा परिचालन

२०८० आश्विन ३ गते

बैंकिङ खबर/भदौमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब रुपैयाँ बढी व्यवसाय गरेका छन्। भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब १६ अर्ब १५ करोड रुपैया निक्षेप परिचालन गरेका छन्। एक महिनामा ४४ अर्ब १९ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन्।

एक महिनामा वाणिज्य बैंकहरुले १ खर्ब ९ अर्ब ८४ करोड, विकास बैंकहरुले ५ अर्ब २ करोड र वित्त कम्पनीहरुले १ अर्ब २९ करोड रुपैयाँ निक्षेप थप गरेका हुन्। भदौ मसान्तसम्म वाणिज्य बैंकहरुसँग ५० खर्ब ४७ अर्ब २५ करोड, विकास बैंकमा ५ खर्ब ६६ अर्ब २५ करोड र वित्त कम्पनीहरुमा १ खर्ब ११ अर्ब ६० करोड गरी कूल ५७ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ निक्षेप मौज्दात छ।

गत साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४८ खर्ब ५९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले ४२ खर्ब ९८ अर्ब ७३ करोड, विकास बैंकहरुले ४ खर्ब ६८ अर्ब ८९ करोड र वित्त कम्पनीहरुले ९१ अर्ब ७३ करोड गरी कुल ४८ खर्ब ५९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

भदौमै वाणिज्य बैंकहरुले ४३ अर्ब २५ करोड र विकास बैंकहरुले १ अर्ब ४२ करोड रुपैयाँ थप कर्जा प्रवाह गर्दा वित्त कम्पनीहरुको भने ४८ करोड रुपैयाँले घटेको छ। भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४३ खर्ब ४१ अर्ब ९८ करोड, विकास बैंकहरुले ४ खर्ब ७० अर्ब ३१ करोड र वित्त कम्पनीहरुले ९१ अर्ब २५ करोड रुपैयाँ गरी कुल ४९ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।