
बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले असोजमा ब्याजदर नबढाउन बैंकरहरुलाई निर्देशन दिएका छन् । उनले पछिल्लो साता छुट्टाछुट्टै बैठकका लागि केही बैंकरहरुलाई बोलाएर बैंकहरुबाट कर्जा प्रवाहको अवस्था, निक्षेप संकलन तथा ब्याजदर घट्ने/नघट्ने विषयमा राय लिने काम गरेका छन् । यसअघि पनि अर्थमन्त्रीले बैंकरहरुलाई छलफलका लागि बोलाएका थिए ।
सो क्रममा ब्याजदर घटाउनका लागि मैले के गरिदिनुपर्छ भनी उनले सोधेका थिए । अधिकांश बैंकरले स्थानीय निकायको रकममध्ये ६० प्रतिशतलाई निक्षेपमा गणना गर्न दिइए ब्याजदर घट्ने दाबी गरेका थिए । त्यही विषयलाई अगाडि सार्दै अर्थमन्त्रीले असोजमा ब्याजदर घटाउन भनेका हुन् ।
साताअघि अर्थमन्त्री डा. महतले केही सिनियर बैंकरहरुलाई सिंहदरबारमा डाकेका थिए । यो बीचमा अर्थमन्त्री डा. महतले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष सुनिल केसीलाई मन्त्रालयमै बोलाएर असोजमा ब्याजदर घटाउने गरी आवश्यक समन्वय गर्न निर्देशन दिइसकेका छन् ।


