२०८० भाद्र १६ गते

लघुवित्तमा देखिएका समस्या, चुनौती एवम् समाधानका उपायहरु

घनश्याम राज उप्रेती

परापूर्व कालदेखि अनौपचारिक तबरबाट शुरु भएको लघुवित्त सेवा हाल विश्वभर गरिबी निवारणको महत्वपूर्ण अंगको रुपमा विकास हँुदै गएको छ । यस्तो सेवा पछिल्लो दुई दशकयता आर्थिक अवस्था न्यून रहेका व्यक्ति, वर्ग र समुदायको उत्थानको लागि विभिन्न अवधारणा, प्रक्रिया र स्वरुपमा अवलम्वलन गर्न थालिएको छ ।

अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुमा भने बंैकिङ्ग प्रणालीले समेट्न नसकेका ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा गरिबी न्यूनीकरण गर्ने महत्वपूर्ण उपायको रुपमा लघुवित्त प्रणालीलाई प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ ।

ग्रामीण तथा सहरी क्षेत्रका विपन्न वर्गमा सहज रुपमा वित्तीय सेवा प्रदान गरी देशमा रहेको गरिबी न्यूनीकरणमा सहयोगी बन्दै वित्तीय सेवा हालसम्म ५९ लाख सदस्य आबद्ध गराइ करिब १० खर्ब कर्जा लगानी गरिएको छ । साथसाथै अन्य सामाजिक कार्यक्रममा अग्रपंतिमा रहेका लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता, विभिन्न किसमका सीपमुलक तालिम, राहत वितरण, छात्रवृत्ति जस्ता तमाम सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छन् ।

वर्तमान समयमा ३० वर्ष वित्तीय सेवा प्रदान गरेका लघुवित्त वित्तीय संस्थाका वर्तमान समस्या, चुनौती एवम् समाधानहरू

समस्याहरु

नेपालजस्तो भौगोलिक विविधता एवम् विकटता भएको विकासोन्मुख राष्ट्रको लागि निम्न वर्गमा वित्तीय पहुँच वृद्धि गरी गाउँ, शहर, हिमाल, पहाड र तराई विभिन्न जाति, वर्ग, लिंगलाई समुचित तरिकाले व्यावसायिक बनाउने कार्य एकदमै जटिल छ । समाजमा रहेका मिटरब्याजी, ढुकुटीवाला र सोझासाझा दिदी बहिनीलाई पहिला समुहमा बस्न लगाइ उनीहरुको नामबाट कर्जा लिई फरार रहने अनि समाजमा लघुवित्तविरुद्ध अनेक किसिमका भ्रम फैलाई लघुवित्तलाई समस्यामा पारेका छन् । वर्तमान परिपेक्षमा लघुवित्त वित्तीय संस्थामा रहेका प्रमुख समस्याहरु देहाय बमोजिम छन् ।

१.सदस्य दोहोरोपना अस्वस्थ प्रतिस्पर्धाले गर्दा खराब कर्जा बढ्दै गइरहेको छ ।

२.ग्रामीण भेगका बस्तिका भन्दा सहर बजारमा कार्यक्रम बढी विस्तार भएको छ ।
सबै लघुवित्त संस्थाले एउटै सदस्यलाई कर्जा लगानी गरेका छन् जसको कारण किस्ता समयमै असुल नहुने, बैठक सञ्चालन प्रक्रिया,सदस्य उपस्थिति न्यून रहने राम्रो सदस्य हट्नेदर बढ्ने जस्ता समस्या दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।

३.सदस्यले लगेको कर्जाको सहि सदुपयोग नगर्ने, किस्ता नतिर्ने, लघुवित्त वित्तीय संस्थाको कर्जा असुली सम्बन्धी प्रभावकारी कानूनको व्यवस्था नहँुदा लघुवित्तको पैसा नतिरे के हुन्छ भन्ने कुरा जस्ता प्रवृत्तिले खराब सदस्यको मनोबलले लघुवित्त वित्तीय संस्थाको कार्यक्रम विस्तार तथा उद्देश्य पूरा गर्न समस्या भएको छ ।

४.धैरै वित्तीय संस्थाबाट कर्जा लिइ कर्जाको दुरूपयोग गरी वित्तीय संस्थाको बारेमा गठित अवैधानिक संघर्ष समितिको अराजकता, सत्यतथ्य ठोस प्रमाण बिना लघुवित्त वित्तीय संस्थाको बारेमा गलत समाचार सम्प्रेषण गर्ने कथित पत्रकार, राजनीतिक कर्मीहरु ।

चुनौतिहरु

समयक्रमसँगै अन्य थुप्रै प्रतिस्पर्धी संस्थाहरु स्थापित भइ क्रियाशिल बनिरहेका छन् । लघुवित्त सेवा नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि महत्वपूर्ण वित्तीय औजार सावित भएको छ । बैंकिङ पहुँचबाट टाढा रहेका जनतालाई लघुकर्जाको माध्यमबाट सामूहिक जमानीको आधारमा कर्जा सुविधा प्रदान गरी आर्थिक क्रियाकलापमा सहयोग गर्नु नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा वित्तीय पहुँच, वित्तीय साक्षर कार्यक्रम सञ्चालन गरी सधँै चुल्हो र घाँस दाउरामा व्यस्त रहने गाउँदेखि सहरका वित्तीय पहुचँबाट टाढा रहेका दिदीबहिनीहरुलाई समुहमा आवद्ध गराई आयआर्जनको कार्यका सरिक गराउने कार्य चुनौतिपूर्ण नै छ ।
बजारमा लघुवित्त वित्तीय संस्थाको बाक्लो उपस्थिति तथा अस्वच्छ प्रतिस्पर्धा र लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिले झन् चुनौती खडा गरेको छ । वर्तमान अवस्थामा वित्तीय संस्थाले झेल्नु परेका चुनौतीहरु देहाय बमोजिम छन् ।

१.पुँजीको अभाव
२.भौगोलिक विकटता
३.परम्परागत सूचना प्रविधि
४.वित्तीय साक्षताकमी
५.उच्च सञ्चालन खर्च तथा लागत खर्च
६.भौतिक पूर्वाधारको कमी
७.प्रविधिको न्यून प्रयोग
८.कर्जा दोहोरोपना
९.अस्वस्थ प्रतिस्पर्धा
१०.ग्राहक सदस्यमा इमानदारीताको अभाव
११.कर्मचारीमा लगनशिलताको कमी
१२.कर्जा असुलीमा प्रक्रियामा प्रभावकारी कानूनको अभाव

सुझावहरु

१.सदस्य तथा आफ्नो लक्ष्य पूरा गर्ने दौडमा धेरै संस्थामा आबद्ध सदस्यलाई समुह प्रवेश नगराउने
२.केन्द्र बैठक सञ्चालन नियम बमोजिम गर्ने बैठक तोकेको समयमा सञ्चालन गर्नुका साथै बैठक शान्त वातावरण संचालन गर्ने
३.कर्जा माग गराउँदा केन्द्र बैठकमा राम्रोसँग छलफल गर्ने,कर्जा विश्लेषण गर्न सदस्यको व्यवसाय सञ्चालन तथा घरमा गइ घरका सम्पूर्ण सदस्यसँग छलफल गरी कर्जा विश्लेषण गर्ने
४.कर्जा लिएको सदस्यले लिएको कर्जा सही सदुपयोग गरे नगरेको जाँच गर्ने
५.समुह बैठकमा बढी भन्दा बढी सदस्य उपस्थित गराउने
६.कर्जा लगानी पूर्व सदस्यको कर्जा सूचना केन्द्रबाट सीआइसी अनिवार्य रूपमा लिने
७.कर्जा लगानी गर्दा परिवारको नजिकको नातेदारलाई जमानी राख्ने
८.कर्जा लगानी व्यवसाय सञ्चालन गर्ने सुरु गरेपछि मात्र लगानी गर्ने
९.बजार केन्द्रित समुह गठन भन्दा गाउँमा कार्यक्रम विस्तार गर्ने
१०.वित्तीय साक्षरता कार्यक्रम व्यापक रूपमा सञ्चालन गर्ने
११.वित्तीय संस्थामा आवद्ध कर्मचारीलाई बेला बेलामा तालिम प्रदान गर्ने
१२.वर्तमान समयमा चलिरहेको विभिन्न संघर्ष समिति, स्थानीय निकाय, ग्राहक सदस्य, बुद्धिजीवीमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने

उप्रेती स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लि.सुडा कन्चनपुरका बरिष्ठ सहायक हुनुहुन्छ ।