Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चेकको दुरुपयोग बढ्यो, होसियार बनौँः राष्ट्र बैंक

२०८० भाद्र १२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले होसियार भई चेक जारी गर्न आग्रह गरेको छ । वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। ‘होसियार भई चेक जारी गर्ने गरौँ’, सूचनामा भनिएको छ, ‘गैरकानुनी लेनदेन नगरौँ।’

पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा संस्था कालोसूचीमा पर्ने घटना पनि बढेर गएको राष्ट्र बैंकले जनाएको छ।

‘चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रस्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नुपर्दछ’, राष्ट्र बैंकले भनेको छ, ‘खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीका रुपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरिदिनेजस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्दछ र कानुनबमोजिमको सजायसमेत हुन्छ।’

बैंक तथा वित्तीय संस्थामा रहेको रकमको कारोबारका लागि चेक भरपर्दो माध्यम हो। विनिमेय अधिकारपत्र ऐन, २०३४ (पछिल्लो संशोधन २०७५) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (पछिल्लो संशोधन २०७४)ले यसलाई माग्नासाथ भुक्तानी दिनु भनी कुनै बैंकउपर खिचिएको विनिमेयपत्रका रुपमा व्याख्या गरेको छ।