Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुमा एक सातामै थपियो ३० अर्ब निक्षेप

२०८० भाद्र १० गते

बैंकिङ खबर/पछिल्लो एक सातामा बैंकिङ प्रणालीमा ३० अर्ब निक्षेप थपिएको छ । साउन ३१ गतेसम्म प्रणालीमा ५५ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप थियो। भदौमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएसँगै निक्षेप बढ्न थालेको हो।

साउन एक महिनामा मात्रै प्रणालीबाट १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो। साउनको सुरुमै स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाइने व्यवस्थाले १ खर्ब निक्षेप घटेको थियो। साथै बैंकहरुले साउनमा निक्षेपको ब्याजदर घटाउँदा अन्य ७० अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

साउन यता राष्ट्र बैंकले विकास ऋणपत्र, ट्रेजरी बिल्स जारी गर्दा केही निक्षेप घट्ने गरेको राष्ट्र बैंकले जनाएको छ । उनीहरुका अनुसार आयल निगमको भुक्तानीका कारण साउनमा निक्षेप घटेको हो। भदौका लागि बैंकहरुले ब्याजदर बढाएसँगै पुनः निक्षेप बढ्न थालेको देखिएको छ। पछिल्लो ७ दिनमै ३० अर्ब रुपैयाँ रुपैयाँ निक्षेप थपिएसँगै प्रणालीमा ५६

खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। भदौ ५ गतेसम्म आइपुग्दा प्रणालीमा ५६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। साउनमा निक्षेपसँगै कर्जा लगानी समेत घटेको थियो। साउन एक महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २३ अर्बले घटेको देखिन्छ। भदौ पहिलो एक सातामा प्रणालीमा ३० अर्ब रुपैयाँ निक्षेप बढेसँगै कर्जा प्रवाह समेत बढेको छ।

भदौको पहिलो सातामा बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। साथै, बैंकहरुले समेत नयाँ स्किम ल्याएर कर्जा प्रवाह गर्न थालेका छन् । साउनमा कर्जाको माग न्यून हुने हुँदा कर्जा प्रवाह घटेको बैंकर्सहरु भनाइ छ।