
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता सर्वसाधारणसहित बैंकरहरूलाई पनि आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताए। गभर्नर अधिकारीले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताए।
राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंकभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको उनको भनाइ थियो। गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताए। आर्थिक गतिविधि चलायमान बनाउन सरकार र राष्ट्र बैंकले अग्रसरता लिन ढिलो गर्न नहुने उनको भनाइ थियो।




