
बैंकिङ खबर/कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदा त्यसले कर्जाको ब्याजदर पनि बढ्ने भएको हो ।
पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा कर्जाको ब्याजदर पनि सामान्य घट्न थालेको थियो। औसतमा हेर्दा कर्जाको ब्याजदर करिब १ प्रतिशतले मात्रै घटेको छ ।
बैंकहरुले आधार दरमा प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन्। बैंकहरुको आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ भने आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ।
निक्षेपको ब्याजदर बढ्दा बैंकहरुले निक्षेपमा बढी ब्याजदर दिनुपर्ने हुन्छ । बढी ब्याज दिँदा उनीहरुको ब्याज खर्च बढ्छ जसले बैंकहरुको लागत बढाउछ। लागत बढ्दा बैंकहरुको आधार दर पनि बढ्छ ।
बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन। बैंकहरुले जोखिम हेरेर कति प्रिमियम थप्ने निर्णय गर्छन। कम जोखिम भएका कर्जामा थोरै प्रिमियम थप्छन भने धेरै जोखिम भएका कर्जामा बढी प्रिमियम थप गर्छन्।
असारसम्ममा बैंकहरुको औसत आधार दर १०.०५ प्रतिशतमा झरेको थियो । साउनमा नै एनएमबी बैंक, एनआइसी एशिया बैंक, नबिल बैंकलगायतले ब्याजदर बढाएका थिए। उनीहरुको साउनमा नै आधार दर बढ्ने भएकोले भदौदेखि कर्जाको ब्याजदर केहि बढ्ने छ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था गरेकोले यी बैंकको कर्जाको ब्याजदर बढ्ने छ । केन्द्रीय बैंकले पछिल्लो ३ महिनाको औसत आधार दरको आधारमा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।
भदौदेखि १२ वटा बैंकले निक्षेपको ब्याजदर बढाएका छन्। जसले गर्दा भदौमा ती बैंकहरुको आधार दर बढ्नेछ भने असोजदेखि उनीहरुको पनि कर्जाको ब्याजदर बढ्ने छ।




