Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पुराना ऋणीलाई ब्याज भार करिब ४ प्रतिशत थप

२०८० भाद्र १ गते

बैंकिङ खबर/  ऋणीहरूलाई ब्याज भार करिब ४ प्रतिशत थप भएको छ। दुई वर्षअघि वाणिज्य बैंकहरूबाट कर्जा लिने ऋणीलाई ब्याजदर औसतमा ३.८७ प्रतिशत थप भएको हो।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर १२.३० प्रतिशत पुगेको छ। यस्तो ब्याजदर दुई वर्षअघि अर्थात २०७८ असारमा ८.४३ प्रतिशत थियो।

सार्वजनिक तथ्यांकअनुसार एक वर्षमा भने कर्जाको ब्याजदर ०.६८ प्रतिशत थप भएको हो। दुई वर्षअघि वाणिज्य बैंकबाट कर्जा लिने ऋणीको ब्याजदर ३.८७ प्रतिशत र एक वर्षअघि ऋण लिनेलाई ०.६८ प्रतिशतले ब्याजको भार थप भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

उक्त अवधिमा वाणिज्य बैंकहरूको औसत बेसरेट नै बढ्दा कर्जाको ब्याजदर समेत बढेको हो। २०७८ असारमा औसत ६.८७ प्रतिशत रहेको वाणिज्य बैंकहरूको बेसरेट २०८० असारमा ३।१७ प्रतिशतले थप भएर १०.०३ प्रतिशत पुगेको छ। एक वर्षमा भने यस्तो दर ०.४९ प्रतिशतले थप भएको हो।

यस्तै २०८० असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.८६ प्रतिशत छ। एक वर्षमा ०.४१ प्रतिशत र दुई वर्षमा ३.२१ प्रतिशतले निक्षेपको औसत ब्याजदर बढेको हो।

यसैगरी २०७९ असारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.६६ प्रतिशत रहेकोमा २०८० असारमा ६.३५ प्रतिशत छ। वाणिज्य बैंकहरूबीच अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ असारमा ६.९९ प्रतिशत रहेकोमा २०८० असारमा २.९८ प्रतिशत छ।