
बैंकिङ खबर/घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने देखिएको छ । अघिल्लो त्रैमासको तुलनामा गत असारमा प्रायः बैंक तथा वित्तीय संस्थाको आधारदर घटेकाले ब्याजदर घट्ने देखिएको हो ।
आधार दर (बेस रेट) बैंक तथा वित्तीय संस्थाको ऋणको ब्याज निर्धारण गर्ने आधार हो । आधार दरमा आएको परिवर्तनका आधारमा बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर बढाउने वा घटाउने गर्छन् । यसकारण आधार दर बढ्दा ब्याजदर महँगो हुन्छ भने घट्दा सस्तो ।
वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार गत असारसम्म ८ वटा वाणिज्य बैंकको आधार दर एकल अंक (१० भन्दा कम)मा झरेको छ । बाँकी १२ वटा बैंकको आधार दर भने १० प्रतिशतभन्दा माथि छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.७९ प्रतिशत छ भने कुमारीको सबैभन्दा धेरै १०.९० प्रतिशत छ ।
गत असारसम्म राष्ट्रिय वाणिज्य, स्टान्डर्ड चार्टड, नेपाल इन्भेस्टमेन्ट मेगा, एभरेस्ट, नबिल, सिद्धार्थ, नेपाल र एनआईसी एसिया बैंकको आधार दर एकल अंकमा झरेको हो । २० वाणिज्य बैंकको औसत आधार दर १०.०५ प्रतिशतमा झरेको छ । जबकि चैत मसान्तसम्म औसत आधार दर १०.४८ प्रतिशत थियो भने ५ बैंकको मात्रै एकल अंकमा थियो ।
२०७९ असार मसान्तको तुलनामा भने औसत आधार दर बढी हो । २०७९ असार मसान्तमा बैंकहरुको औसत आधार दर ९.२२ प्रतिशत थियो ।
निक्षेपमा बैंकहरुले बचतकर्तालाई दिने ब्याजदर घटेकाले हालको ब्याजदर यथावत रहँदा आगामी दिनमा आधार दर थप घट्न जानेछ । लगानीयोग्य रकम (तरलता) अभावका कारण बैंकहरुले पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशतसम्म ब्याजदर दिँदै आएकोमा क्रमिक रुपमा घटेर हाल १० प्रतिशत हाराहारीमा झरेको छ ।
६ महिना अघि मुद्दती निक्षेपमा रहेको रकम अब परिपक्व भई नवीकरण हुँदा बैंकहरुले दिने ब्याज कम हुन्छ, जसले आगामी महिनामा आधार दर घट्दै जानेछ । निक्षेपको ब्याजदर थप बढ्न गएमा भने आधार दर महँगिन सक्छ ।
आधार दर कुन बैंकको कति छ ?
|
बैंक |
आधार दर प्रतिशतमा (असार मसान्त) |
|
राष्ट्रिय वाणिज्य बैंक |
७.७९ |
|
स्टान्डर्ड चार्टर्ड |
९.०२ |
|
नेपाल इन्भेस्टमेन्ट |
९.३६ |
|
एभरेस्ट |
९.४७ |
|
नबिल |
९.५२ |
|
सिद्धार्थ |
९.९१ |
|
नेपाल बैंक |
९.९२ |
|
एनआईसी एसिया |
९.९८ |
|
कृषि विकास |
१०.०६ |
|
सानिमा |
१०.१५ |
|
प्रभु |
१०.१६ |
|
ग्लोबल आईएमई |
१०.२० |
|
एनएमबी |
१०.३७ |
|
सिटिजन्स |
१०.५१ |
|
प्राइम |
१०.५७ |
|
नेपाल एसबीआई |
१०.७४ |
|
माछापुच्छ्रे |
१०.७४ |
|
लक्ष्मी |
१०.७५ |
|
हिमालयन |
१०.८६ |
|
कुमारी |
१०.९० |
|
औसत |
१०.०५ |




