
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेबाट ब्याज असूल गरिने र त्यस्तो कार्यमा सहभागी बैंकलाई पनि कारबाही हुने चेतावनी दिएका छन् ।
मौद्रिक नीतिको विषयमा थप प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्र बैंककै केही सुपरीवेक्षणबाट सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको देखिएको उल्लेख गरे । उनले त्यस विषयमा स्वतन्त्र परीक्षकलाई यथार्थ पत्ता लगाउने गरी जिम्मा दिइएको बताए । स्वतन्त्र परीक्षकहरुले सहुलियतपूर्ण कर्जा सदुपयोग भएको वा नभएको भन्ने विषयमा काम गरिरहेका र उनीहरुले साउन मसान्तसम्म त्यसको प्रतिवेदन दिने उल्लखे गर्दै उनले थपे–‘त्यसपछि सहुलियतपूर्ण कर्जाको दुरुपयोगको विषयमा उठेका प्रश्नहरुको निश्कर्ष पाउँछौं । दुरुपयोग भएको भए ब्याज समेत असूली भएर राज्यकोषमा जान्छ । सम्बन्धित बैंक पनि कारबाहीमा पर्छ । सदुपयोग भएको भए त राम्रै भइगो ।’
उनले केही दिनअघि अर्थसमितिमा ५० ठूला ऋणिहरुको नाम सार्वजनिक गर्न भनी सांसदहरुले चुनौति दिएको विषयमा पत्रकारहरुले उठाएका जिज्ञासालाई पनि सम्बोधनको प्रयास गरेका थिए ।


