बैंकिङ खबर/ गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गभर्नर अधिकारीले कुनै एक क्षेत्रको भन्दा पनि समग्र अर्थतन्त्रको संरचनात्मक सुधारको आवश्यकता औंल्याएका हुन् । बैंकले २७ खर्ब लगानी गर्दा पनि ६७ अर्ब र ४३ खर्ब लगानी गरे पनि ६७ अर्ब नाफा कमाएको उनले बताए ।
उनले २०८३ असार मसान्तसम्म कुल कर्जाको कम्तीमा पनि १५ प्रतिशत १ करोडभन्दा कम ऋण लिनेले पाउनुपर्छ भनेर छुट्याउन लागेको उनले खुलासा गरे । उत्पादनशील क्षेत्रमा जाने कर्जाको विषय चुनौतीपूर्ण रहेको गभर्नर अधिकारीले बताए । ‘त्यसैले यसलाई हेरेर मौद्रिक नीति बनाइएको छ,’ उनले भने, ‘आगामी मौद्रिक नीतिले उत्पादन र रोजगारी कसरी बढाउने भन्नेमा केन्द्रित रहनेछ ।’ त्यस्तै विदेशी मुद्रा सटहीको समस्या पनि समाधान गर्ने प्रतिबद्धता उनले जनाए । गभर्नर अधिकारीले ८४ हजार महिलाले कृषि कर्जा पाएको तथ्यांक सुनाए । अहिले राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको सम्बन्ध राम्रो रहेको उनले दाबी गरे ।
सहकारी राष्ट्र बैंकको नियमनमा नपर्ने जानकारी उनले सांसदहरुलाई गराए । केही सांसदले सहकारी संस्थाबाट बदमासी भएकाले त्यसलाई रोक्न गभर्नरको ध्यानाकर्षण गराएका थिए । गभर्नर अधिकारीले अहिले करिब साढे २ प्रतिशत ब्याजदर घटेको जानकारी गराए । यसपटक मौद्रिक नीति बनाउँदा कोरोनाको समयमा बनाएजस्तो चुनौतीपूर्ण रहेको उनले बताए ।