
बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुले टर्म लोन (कुनै निश्चित अवधिको कर्जा) बढाएको पाइएको छ । आर्थिक वर्ष २०७९-८० जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १४ खर्ब ७६ अर्ब टर्म लोन प्रवाह गरेका छन्। गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले अन्य क्षेत्रमा कर्जा प्रवाह खुम्च्याउँदा टर्म लोन उल्लेख्य मात्रामा बढाएका हुन्।
२०७९ जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ११ खर्ब ३६ अर्ब रुपैयाँ टर्म लोन प्रवाह गरेका थिए।
अघिल्लो वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाले साढे २ खर्ब रुपैयाँ टर्म लोन बढाएका छन्। गत वर्ष बैंकहरुको कर्जा प्रवाह सुस्त देखिँदा पनि टर्म लोन बढाएका छन्। टर्म लोन छोटो अवधिका लागि बैंक तथा वित्तीय संस्थाले औद्योगिक, विजनेस, सेवा क्षेत्रमा कर्जा प्रवाह गर्ने गर्दछन्। यस्तो कर्जामा निश्चित अवधिका लागि प्रवाह गरिने हुँदा जोखिम भारसमेत कम हुने हुन्छ।
जोखिम भार धेरै भएको क्षेत्रमा लगानी बढाउदा बैंक तथा वित्तीय संस्थाको लगानी क्षमता घट्ने गर्दछ। तसर्थ, वित्तीय संस्था टर्म लोन दिन थालेका हुन्। वाणिज्य बैंकहरुले २०८० जेठ मसान्तसम्म कुल ४८ खर्ब ५८ अर्ब लगानी गरेको टर्म लोन मात्रै १४ खर्ब बढी छ। गत वर्ष त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाले ११ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
२०८० जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जेठ मसान्तसम्म औद्योगिक संस्थाहरुमा ४ खर्ब ९७ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। त्यसैगरी विजनेस संस्थामा २ अर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ र सेवा क्षेत्रमा २ खर्ब ६३ अर्ब ९९ करोड लगानी गरेका छन्।
अन्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले टर्म लोनमार्फत ४ खर्ब १७ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। २०७९ जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा ३ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रभाव गरेका थिए।
त्यसैगरी विजनेश सेक्टरमा २ अर्ब ९ अर्ब २१ करोड रुपैयाँ र सेवा क्षेत्रमा २ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रभाव गरेका थिए। २०७९ जेठ मसान्तसम्ममा अन्य टर्म लोनमार्फत बैंक तथा वित्तीय संस्थाले २ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा सबै क्षेत्रमा जाने टर्म लोन बढेको राष्ट्र बैंकले प्रतिवेदनले देखाएको छ।




