
बैंकिङ खबर/ साउनमा निक्षेपको ब्याजदर घटाउने तयारी गरिएको छ । असारमा बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । अहिले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ८२.०३ प्रतिशत छ। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ।
बैंकहरूको एक अपासमा कारोबार गर्ने अन्तर बैंक ब्याजदर समेत १.३६ प्रतिशत छ। बैंकहरूले बढी भएको यस्तो रकम राष्ट्र बैंकमा राख्दा समेत औसत २.५४ प्रतिशत ब्याज पाइरहेका छन्।
कर्जा नजाने र कम ब्याजदरमा रकम राख्न पर्दा बैंकहरूलाई निक्षेपको लागत मात्र धेरै पर्न गएको छ। यसैले बैंकहरू निक्षेपको ब्याजदर घटाउने तयारीमा छन्।
बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत बिन्दुले मात्रै घटबढ गर्न सक्ने व्यवस्था गरेका छन्। यही कारण साउनमा निक्षेपको ब्याजदर अधिकतम ८.९९ प्रतिशतसम्म हुन सक्ने देखिएको छ।
असारको लागि वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।
नेपाल बैंकर्स संघले सदस्यहरूबीचको छलफलपछि निक्षेपको ब्याजदर परिर्वतन गर्दै आएका छन्। बिहीबार संघमा ब्याजदर सम्बन्धमा बैठक बस्दैछ।




