July 11th, 2023

कुथेली बुखरी स्मलको आईपीओ खुला, माथिल्लो मैलुङको साउन ४ गतेदेखि खुल्ने

बैंकिङ खबर/कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो।

सोको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असार २९ गते हुनेछ भने ढिलोमा साउन ९ गते हुनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

यसैबीच माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थिानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा भदौ १ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन १८ गतेभित्र आवेदन दिनु पर्नेछ।