
बैंकिङ खबर/ चालु आर्थिक वर्षको ११ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ११ महिनामा आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२२८ अर्ब ९८ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१,४८० अर्ब ८७ करोड र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रहेको छ । संघीय सरकारको खर्च रु.१,१७६ अर्ब ७ करोड र राजस्व परिचालन रु.८३६ अर्ब ८५ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ७.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ प्रतिशत रहेको छ ।


