Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकमा थुप्रियो पैसा, घट्यो अन्तरबैंक ब्याजदर

२०८० असार २४ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको प्रणालीमा अधिक पैसा थुप्रिँदा अन्तरबैंक ब्याजदर घटेको छ । बैंकिङ प्रणालीमा अधिक रकम जम्मा हुन थालेपछि एक बैंकले अर्को बैंकलाई दिने कर्जाको अन्तरबैंक ब्याजदर घटेको हो।

अहिले बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतको लाइनमा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार २२ गतेसम्म अन्तरबैंक ब्याजदर १.६ प्रतिशतमा झरेको छ। गत असार १९ गतेसम्म अन्तरबैंक ब्याजदर ४.१४ प्रतिशत थियो। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि अन्तरबैंक ब्याजदर पनि घट्दै गएको हो।

राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा करिब ४४ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। असार २३ गतेसम्म बैंक तथा वित्तीयहरुको कुल निक्षेप बढेर ५६ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने ४८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ । यो हिसाबले पछिल्लो ४ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत असार १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब ३० अर्ब रुपैयाँ र कर्जा लगानी ४८ खर्ब ६२ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकहरुको निक्षेप पनि यो अवधिमा २६ अर्ब रुपैयाँले बढेको छ। गत असार १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा असार २३ गतेसम्म बढेर ४९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँ घटेको छ। असार २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४३ खर्ब १ अर्ब रुपैैयाँ रहेको छ। गत असार १९ गतेसम्म कुल कर्जा लगानी ४३ खर्ब ३ अर्ब रुपैयाँ थियो। बैंकहरुको औसत सीडी रेसियो भने असार २३ गतेसम्म ८३.२५ प्रतिशत रहेको छ।