बैंकिङ खबर/ पछिल्लो समय बैंकिङ कसुरका घटना दोब्बरले बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको हो ।
प्रहरीको तथ्यांक अनुसार गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो संख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन् ।
प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको रू ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बताए ।
गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको संख्या ११ दशमलव २२ प्रतिशतले बढेको जानकारी दिए ।
प्रहरीका अनुसार सहकारी ठगीका विषयमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका शाखा कार्यालयहरुबाट एक लाख ८९ हजार आठ सय ७९ निक्षेपकर्ताहरुको रू १२ अर्ब २३ करोड ५१ लाख रकम दुरुपयोग भएको भेटिएको कडायतले बताए । उनका अनुसार उक्त रकम दुरुपयोगका आरोपमा सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ ।
अन्य सहकारी ठगीतर्फ रू दुई अर्ब ४४ करोड २१ लाख बिगो कायम गरी अन्य सहकारी ठगीका आरोपीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ ।