Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘बैंक र बैंकका कर्मचारीमाथिकाे आक्रमण बन्द गरौँ ’

२०८० असार १३ गते

केदारनाथ अधिकारी (केशव)

बैंक भनेको सर्वसाधारणबाट निक्षेप स्वीकार गर्ने, ऋण (कर्जा) प्रदान/प्रवाह गर्ने, मुद्राको स्थानान्तरण गर्ने तथा साख पत्र सम्बन्धी कारोबार गर्ने, विप्रेषण, एजेन्सी तथा अन्य वित्तीय कार्य गर्ने संगठित संस्था हो ।

जुन कार्य प्रचलित कानुनको दायरा भित्र रही गर्नुपने हुन्छ । बैंकले विभिन्न ब्याक्ति तथा संघसंस्थाहरुसँग छरिएर रहेको बचतलाई निक्षेपको रुपमा संकलन गरी आवश्यक पर्ने व्यक्ति वा संस्थाहरुलाई ऋण उपलब्ध गराउने मध्यस्थकर्ताको कार्य गर्दछ ।

निक्षेपको रुपमा संकलित रकममा बैंकले निश्चित प्रतिशत ब्याज उपलब्ध गराउँदछ, भने बैंकबाट प्रवाह भएको कर्जामा पनि ब्याज लिने काम गर्दछ । परापूर्व कालमा साहुमहाजनकोमा आफुसँग भएको बहुमुल्य धातुहरु सुरक्षित राख्न दिने एवम् समस्या पर्दा साहुमहाजनबाट ऋण/सापटी लिने प्रचलन रहेको थियो ।

यसरी साहुमहाजनबाट ऋण लिए बापत ऋणीले साहुलाई मुद्रा तथा जिन्सीको रुपमा ब्याज बुझाउनुपर्दथ्यो । त्यस्तो ब्याज साहुको इच्छाअनुसार साधारण तथा चक्रिय दुबै हुने गर्दथ्यो । उक्त समयमा सम्पुर्ण कारोबार जिन्सी तथा बस्तुहरुको सट्टा–पट्टाबाट गरिन्थ्यो र समयको विकास क्रमसँगै विभिन्न राजाहरुले आफ्नो शासनकालमा विभिन्न किसिमका मुद्राहरु प्रचलनमा ल्याएका थिए ।

यसरी मानिसहरुको बदलिँदो आवश्यकता र समयको विकास क्रमसँगै नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको स्थापना भयो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल नेपालमा २१ वटा ‘क’ वर्गका वाणिज्य बैंकहरु, १७ वटा ‘ख’ वर्गका विकास बैंकहरु, १७ वटा नै ‘ग’ वर्गका फाइनान्स कम्पनीहरु र ६३ वटा ‘घ’ वर्गका लघुवित्तीय संस्थाहरु रहेका छन् । यी बैंक तथा वित्तीय संस्थाहरुले नेपालभर आफ्ना विभिन्न शाखाहरुमार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिई आइरहेका छन् ।

बैंकले तपाई हामी सर्वसाधारणबाट सम्पूर्ण सुरक्षाकाे प्रत्याभुती दिइ छरिएर रहेको बचतलाई निक्षेपको रुपमा संकलन गरी आवश्यक पर्ने व्यक्ति वा संस्थाहरुलाई ऋण उपलब्ध गराउने मध्यस्थकर्ताको भुमिका निभाउँदै आएको छ । संकलित निक्षेप रकममा बैंकले निश्चित प्रतिशत ब्याज दिने गर्दछ भने प्रदान गरीएको ऋणमा पनि ब्याज लिने गर्दछ ।

बैंकले आफ्नो संस्थाको आधार दरमा नेपाल राष्ट्र बैंकले तोकेको सिमामा रही प्रिमियम बापत केही प्रतिशत थप गरी आवश्यक पर्ने ब्यक्ति वा संस्थाहरुलाई ऋण उपलब्ध गराउने गर्दछ । बैंकले आधार दर निर्धारणमा मुख्यतया ५ कुराहरु समाबेश गर्दछ । जसअन्र्तगत निक्षेपको रुपमा संकलित रकमको मुल्य अथवा लागत, बैंक प्रशासकीय मूल्य अथवा लागत, रिजर्भ अन्तर्गत नेपाल राष्ट्र बैंकमा राखिएको नगदको मुल्य अथवा लागत, बैंकले आफुसँग राखेको नगदको अवसर लागत र अन्य स्थिर सम्पत्तीका मूल्य अथवा लागत समावेश गरेको हुन्छ ।

यसरी बैंकहरुबाट तपाई हामी सर्वसाधारणले लगेको ऋण (कर्जा) तपाई हाम्रै दाजुभाई तथा दिदीबहिनी हरुले बचत तथा सुरक्षाका लागि बैंकमा जम्मा गरी राखेकोे रकम हो । आफ्नो संस्थामा निक्षेपकर्ताले जम्मा गरेको रकमको सुरक्षा गर्नु र मागेको बखतमा सम्बन्धित व्यक्ति तथा संस्थालाई फिर्ता गर्नु बैंक तथा वित्तीय संस्थाको एक प्रमुख दायित्व हो । दायित्व पुरा गर्नु धर्म हो ।

आफ्नो धर्म निभाउन हेतु आफु र आफ्नो सस्थाद्वारा प्रदान गरिएको ऋण (कर्जा), ऋण लिँदाको बखतमा गरिएको करारको अधिनमा रहि असुल उपर गर्नु र सोका लागि नियम बमोजिम आवश्यक काम कारबाही अगाडि बढाउनु सम्बन्धित संस्था तथा सो संस्थामा कार्यरत कर्मचारीको दायित्व हो ।

नेपाल राष्ट्र बैंकको नियम तथा निर्देशनमा रही हाल हाम्रो देशमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रही आएका छन् । कोरोनाको असर नियन्त्रणमा लकडाउन गर्दा व्यवसायिक कारोबारमा अवरुद्ध भयो । सो पश्चात पनि व्यवसायिक कारोबारमा कमि आयो ।

समग्र अर्थव्यवस्थामा नै असर पर्यो । सो समय यता नेपाल राष्ट्र बैंकले नेपालमा रहेका बैंकहरुलाई जारी गरिएको एकीकृत निर्देशिकामा संशोधन गरी असरको प्रभावलाई विभाजन गरी बैंकहरुलाई देश र समाजका लागि योगदान गर्न निर्देशन दियो र सोही बमोजिम बैक तथा वित्तीय संस्थाहरुले गरेका पनि थिए । जसबाट सो समयमा बैंकहरुको नाफा पनि घट्न गएको थियो ।

त्यसयता नेपाल राष्ट्र बैंकले यसरी नै आफुले जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गरी बैंकहरुलाई विभिन्न माध्यमबाट देश र समाजका लागि योगदान गर्न निर्देशन दिइरहेको कुरा हामीलाई अवगत भएकै कुरा हो ।

हालैमा पनि नेपाल राष्ट्र बैंकले वर्तमान अर्थब्यवस्थाको गाभिर्यता भनम् यात् सञ्चालित व्यवसायलाई परेको असरको मुल्याङ्क गर्दै एकीकृत निर्देशिकामा संशोधन गरी ऋणीहरुको अनुरोधमा कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्नु/गराउन सकिने छ भनि संशोधित निर्देशिका जारी गरेको छ ।

अल्पकालिन तथा चालुपुँजी कर्जा प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यताको आधारमा कुनै हर्जना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्त भित्र ३ महिनाका लागि म्याद थप गर्न सकिने छ भनेको छ । यी दुवै निर्देशिकाका लागि २०७९ चैत मसान्तमा उक्त कर्जाहरु असल तथा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ ।

वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले यसरी देश र समाजलाई योगदान गर्दा गर्दै पनि उनीहरुलाई हेर्ने दृष्टिकोण राम्रो देखिँदैन । बैंकहरुले अचाक्ली धेरै नाफा कमाएका छन्, ऋणीसँग चर्को ब्याज असुली गर्ने गरेका छन्, धेरै सेवा शुल्क लिने गरेका छन् भन्ने आदि जस्ता भ्रम धेरैलाई परेको देखिन्छ ।

तपाईहरुको जानकारीका लागि यो बताइ दिउकी व्याजदर सामान्यतया बजारमा रहेको मुद्राको माग र आपुर्तिको आधारमा निर्धारण हुने गर्दछ । जसलाई विभिन्न क्षेत्रले प्रभाव पार्र्ने गर्दछ । त्यस्तैगरी बैंकहरुले लिने सेवा शुल्क, आधार दरमा प्रिमियम जोडी लिने कर्जाको ब्याजदर आदि सम्पुर्ण कार्यमा बैंकहरुको पनि बैंक यानिकी नेपाल राष्ट्र बैंकले प्रत्यक्षरुपमा निगरानी गर्दछ र कुनैपनि बैंक वित्तीय संस्थाले उल्लेखित निर्देशनको सिमामा रही कार्य नगरेको पाइएमा नियमानुसार सम्बन्धित बैक तथा वित्तीय संस्थाहरुलाई आवश्यक कारबाही गर्दछ । 

यहाँ नेपाल राष्ट्र बैंकले कतिपय ब्यवसाय जस्तै कृषि, हस्तकला तथा सिपमुलक ब्यवसाय आदि क्षेत्रमा आधार दरमा २ प्रतिशत मात्र प्रिमियम थप गरेर कर्जा प्रवाह गर्न यस अघि नै बैंकहरुलाई निर्देशन समेत दिइसकेको छ । बैंकहरुले पनि सोही बमोजिम गर्दै आइरहेका पनि छन् ।

यसरी २ प्रतिशत मात्र प्रिमियम लिएर कर्जा प्रवाह गर्नु भनेको मुनाफा कमाउने हैन, लगभग समाज सेवा गरे जस्तै हो । त्यसो भएता पनि देश र देशका जनतालाई योगदान दिनका लागि बंैकहरुले सहर्र्ष राष्ट्र बैंकको निर्देशनलाई अनुपालना गर्दै आइरहेका छन् ।

अर्कोतिर बैंकहरुले असाध्यै नाफा कमाउँदै आइरहेका छन् भन्ने भ्रम हाल जनमानसमा देखिन्छ । के साच्चै बैैकहरुले चाहिनेभन्दा बढी नाफा आर्जन गरेका छन् त ? तपाई हामीलाई जानकारी भएकै कुरा हो बंैकहरुले पारदर्शी भएर वित्तीय विवरण प्रकाशित गर्दछन । जहाँ विगतमा भन्दा हालका वित्तीय विवरण प्रति सेयर आम्दानी र लगानीमा प्राप्त हुने प्रतिफल घट्दै गइरहेको कुरा हामीले प्रष्ट देख्न सक्दछौं ।

त्यस्तैगरी यस विषम परिरस्थितिमा देश र समाजको कल्याण स्वरुप बैंकहरुले आफ्ना ऋणीहरुलाई बिभिन्न किसिमबाट सेवा तथा ब्याजमा सहुलियत तथा छुट दिँदा सेयरधनीले सहर्ष स्वीकार गरेको लगानी पाउने प्रतिफलमा हुने गिरावट र कर्मचारी वर्गले वार्षिकरुपमा पाउने बोनस रकममा आउने कमी हामीले भुल्न हुँदैन ।

अर्कोतर्फ बैंकहरु वित्तीय व्यवस्थापनका डाक्टर पनि हुन् । बंैकहरुले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग छरिएर रहेको बचतलाई निक्षेपको रुपमा संकलन गरी आवश्यक पर्ने व्यक्ति वा संस्थाहरुलाई ऋण उपलब्ध गराउने मध्यस्थकार्ताको कार्य गर्दछ । बैंकले अर्थतन्त्र चलायमान बनाउन महत्वपुर्ण भुमिका खेल्ने गर्दछन् ।

नेपालमा रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु बजार, माग, आपुर्ती आवश्यकताका आधारमा रहेर नेपाल राष्ट्र बैंकको नियमन तथा निर्देशनमा चल्ने गर्दछन् । उपभोक्ता मार्ने नीति नेपाल राष्ट्र बैंकले कदापी लिँदैन र लिएको पनि छैन ।

बैंकहरुले पनि तपाई हामी रहे मात्र उनिहरु रहने छन् भन्दै नेपाल राष्ट्र बैंकको नियमन तथा निर्देशन बमोजिम गर्दै गराउँदै आइरहेका छन् । तसर्थ लेखाइको भावलाई बुझ्दै बैंक र बैंकका कर्मचारीहरुलाई माया गरांै । समुह–उपसमुह बनाएर बैंक र बैंकका कर्मचारीहरु माथि आक्रमण गर्न बन्द गरौँ ।

लेखक अधिकारी युवा बैंकर हुन् ।

 

 

Ad