Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थामा बढ्यो निक्षेपः कर्जा प्रवाह शून्य

२०८० असार ११ गते

बैंकिङ खबर/ वैशाखयता नौ साताको अवधिमा बैंक तथा वित्तीय संस्थामा १ खर्ब निक्षेप संकलन भएको छ । वैशाख २ सम्ममा बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ५४ खर्ब ७३ अर्ब रहेकोमा असार ८ गते ५५ खर्ब ७१ अर्ब पुगेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार ७ गते कुल निक्षेप ५५ खर्ब ७६ अर्ब थियो । समीक्षा अवधिमा कर्जा प्रवाह ५ अर्बले बढेर ४८ खर्ब ५० अर्बबाट ४८ खर्ब ५५ अर्ब रुपैयाँ भएको छ ।

नौ साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४८ खर्ब २२ अर्बबाट बढेर ४९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । असार ७ गते निक्षेप ४९ खर्ब २१ अर्ब पुगेको थियो । त्यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह समीक्षा अवधिमा ४३ खर्ब १ अर्बबाट १ अर्बले घटेर ४३ खर्बमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थामा ब्याजदर उच्च भएपछि कर्जा प्रवाह सुस्ताएको हो । कतिपय संस्था कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को सीमानजिक पुगेपछि ऋण दिनै नसक्ने अवस्थामा थिए । अर्थतन्त्रमा मन्दीका कारण बजारमा वस्तु तथा सेवाको माग घटेकाले पनि कर्जाको माग भएन ।

समीक्षा अवधिमा कर्जा–निक्षेप अनुपात पनि ८५.२ प्रतिशतबाट ८३.९७ प्रतिशतमा झरेको छ । अहिले वित्तीय प्रणालीमा ३ खर्ब ३५ अर्बभन्दा बढी अधिक तरलता (लगानीयोग्य रकम) छ । तरलतायोग्य रकम बढ्दै जाँदा अन्तर बैंक ब्याजदर पनि वैशाख २ गतेको ७ प्रतिशतबाट झरेर असार ८ गते २.६५ प्रतिशतमा आइपुगेको छ ।

लगानीयोग्य रकम पर्याप्त भएपछि आन्तरिक ऋणको ब्याज पनि घटेको छ । तरलता सहज भएसँगै सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋण पत्रलगायतका सबै उपकरणको ब्याजदर घटेको हो । गत वर्ष १३.९९ प्रतिशत ब्याज दिएर आन्तरिक ऋण लिएको सरकारले गएको मंगलबार ३.५७ प्रतिशत ब्याजदरमा २८ दिनको ट्रेजरी बिल बिक्री गर्दै ऋण उठाएको छ ।

अधिक तरलता भएपछि बैंक वित्तीय संस्थाले असारदेखि कर्जाको ब्याजदर घटाएका छन् । आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको छ ।