Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दुई वर्षपछि बैंकिङ प्रणालीमा सहजता सहज

२०८० असार ३ गते

बैंकिङ खबर/ झण्डै दुई वर्षपछि बैंकिङ प्रणालीमा तरलता सहज भएको छ । पछिल्लो समय कर्जा प्रवाह घटेको छ भने निक्षेप बढी हुँदा अन्तरबैंक ब्याजदर घटेर ५.७४ प्रतिशतमा झरेको छ। कुनै समय ८.५ प्रतिशतसम्म पुगेको अन्तरबैंक ब्याजदर ओरालो लाग्ने चरणमा प्रवेश गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा निक्षेप ५५ खर्ब ४७ अर्ब पुगेको छ।

वैशाख मसान्तसम्म निक्षेप ५४ खर्ब ७९ अर्ब रहेको थियो। एक महिनाको बीचमा निक्षेप ६८ अर्बले बढेको छ। यता जेठ मसान्तसम्म ऋण प्रवाह ४८ खर्ब ५३ रहेको छ। वैशाख मसान्तसम्म ४८ खर्ब ४८ अर्ब ऋण प्रवाह रहेको थियो। जेठमा ५ अर्ब मात्रै ऋण प्रवाह भएको छ। सोही कारण कर्जा र निक्षेप (सीडी) रेसियो ८४.१९ प्रतिशतमा झरेको छ।

राष्ट्र बैंकले ९० प्रतिशतसम्म सीडी रेसियो तोकेको छ। अहिले ऋण दिनका लागि बैंकहरुसँग मनग्य पैसा थुप्रिएको छ। तर वित्तीय संस्थाहरु असारमा ऋण प्रवाह गर्ने भन्दा पनि ऋण उठाउनमा केन्द्रित भएका छन्। यसले साउनमा वित्तीय प्रणाली अझै सहज हुने देखिन्छ।

अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी (तरलता) सहज हुँदै गएको संकेत गर्छ। यसलाई बैंकिङ प्रणालीमा पैसा सहज हुँदै गएको मान्न सकिन्छ।पछिल्लो ११ दिनमा बैंकिङ प्रणालीमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

गत जेठ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ५५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँको बढेको छ। गत जेठ २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ अर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ४८ अर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।

यो ११ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले मात्र बढेको छ। गत जेठ २० गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ४८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज घटाएका छन्। आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन्।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो। असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको छ।

वैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको र कर्जाको ब्याजदर सोही अनुपातमा घटेको हो। चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ।