
बैंकिङ खबर/ नेपालमा बन्देज लगाइएको क्रिप्टो करेन्सी कारोवारमा संलग्न युवाहरुको संख्या बढ्न थालेको छ । हालै मात्र प्रहरीले बेटिङ र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । वान एक्स बेटबाट बेटिङमा संलग्न पाँचजनालाई काठमाडौं उपत्यका अपराध कार्यालयको टोलीले पक्राउ गरेको हो।
काठमाडौंका विभिन्न ठाँउबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुले करिब ७४ करोड रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको छ। पक्राउ पर्नेमा दिनेश खड्का, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछाने र अनिता धिताल छन्। प्रहरीका अनुसार कैलालीका खड्का दोस्रोपटक पक्राउ परेका हुन्।
क्रिप्टोसँगै अनलाइ जुवा (वान एक्सबेट)मा दिनेश मुख्य कारोबारी रहेको पाइएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रमुख एसएसपी डाक्टर मनोज केसीका अनुसार कैलाली घर भएका ३० वर्षीय दिनेश खड्का नेपालमा बसेर अनलाइन जुवादेखि क्रिप्टो कारोबार गर्ने मुख्य व्यक्ति मध्येका एक भएको खुलेको छ । प्रहरीले विभिन्न बैंक खाताबाट उनले ६४ करोड रुपैयाँको कारोबार गरेको तथ्य सार्वजनिक गरेको छ । उनले रामविलास थारु, तेजबहादुर कठायत, नविन चौधरी, अनिता धितालको कागजपत्र प्रयोग गरेर ६३ वटा बैंकमा खाता खोलेका थिए। उनले १२ वटा बैंकबाट ६४ करोडको कारोबार गरेको देखिएको हो।
बुधबार प्रहरीले अनलाइन जुवासँगै क्रिप्टोमा जोडिएका पाँच जनालाई पक्राउ गरेको छ। जसका मुख्य नाइके दिनेश देखिएका छन्। त्यस्तै उनकी प्रेमिका भनिएकी अनिता धिताललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरु सँगै बस्दै आएका थिए।
दीपेशले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ, दिनेश चन्दले प्रभु बैंकबाट ४५ लाख र आशिष लामिछानेले विभिन्न बैंकको खाताबाट २ करोड ९८ लाख ९६ रुपैयाँ भन्दाबढीको कारोबार गरेको खुलेको छ। उनीहरुसँग ७४ करोड १३ लाख ५० हजार रुपैयाँको कारोबार भएको देखिएको छ।
प्रहरीले पक्राउ गरेका अशिष लामिछाने पेशाले चार्टर एकाउन्टेन हुन्।
उनले भारतमा पढाइ गरेको खुलेको छ। उनले अहिले नेपालमा बसेर अनलाइन जुवाको हिसाव किताव राख्ने गरेको प्रहरीको दाबी छ। प्रहरीले उनलाई पक्राउ गर्दा साथबाट ३७ लाख रुपैयाँ समेत बरामद गरेको छ।
जुन रकम उनले कमिसनबाट पाएको बताएका छन्। लामिछानेले दिनेशको समुहको मात्र नभएर विदेशबाट नेपालमा हुने अनलाइन जुवाको अन्य कारोबारको समेत हिसाबकिताव राख्ने गरेको खुल्छ। प्रहरीले समातिएका सबैविरुद्ध सट्टेबाजीमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
यसअघि प्रहरीले भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) मा लगानी तथा कारोबार गरेको पाइएपछि विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको थियो । उनीविरुद्ध ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले श्रेष्ठविरुद्ध ४८ करोड ४ लाख ७२ हजार ५४८ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
उनी १५ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । विशाल सिमेन्टका पूर्वसञचालकसमेत रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो ।
यी त केहि प्रतिनिधिमूलक घटना मात्र हुन् । तर पछिल्लो समय नेपालमा क्रिप्टोकरेन्सी कारोबारको संख्या फेरि बढ्न थालेको छ । नेपाल सरकारले नेपालभित्र नेपाली मुद्रा कारोबार मात्र वैध मानेको छ । नेपाली मुद्राबाहेक अन्य मुद्रा विदेशमा कमाएर ल्याउन पाइन्छ, तर नेपालमा त्यसलाई बैंक वा मनी चेन्जरमार्फत नेपाली मुद्रामा साटेर मात्र कारोबार गर्न पाइन्छ । विदेश जाँदा विदेशी मुद्रा चाहियो भने प्रयोजन खोलेर बैंकबाट किन्नुपर्छ । बिटक्वाइन भने यसैगरी पनि खरिद–बिक्री गर्न पाइँदैन ।
नेपालमा ४ लाख २३ हजार क्रिप्टो कारोबारी
नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्ड कारोबारीहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । नेपाली पैसा अवैधरूपमा विदेशिएपछि र डिजिटल नेटवर्किङमा ठगिने बढेपछि सरकारले नियन्त्रणका लागि प्रयास थालेको हो । सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्याको क्रिप्टोकरेन्सीमा लगानी छ ।
ट्रिपल ए ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसमा नेपाल पनि समेटिएको थियो । सो प्रतिवेदनअनुसार नेपालमा ४ लाख २३ हजार ८ सय ४० जना क्रिप्टो प्रयोगकर्ताहरू रहेको उल्लेख छ ।
क्रिप्टोकरेन्सीलगायतका डिजिटल सम्पत्तिहरुमा लगानी गरे कारबाहीः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायतका केही डिजिटल सम्पत्तिहरुमा लगानी नगर्न भनेको छ। मुलुकभित्र र बाहिर रहेका नेपालीहरुलाई डिजिटल सम्पत्तिमा लगानी गरे कारबाही गरिने जनाएको हो।
नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा यस्ता सम्पत्तिको कानुनी मान्यता नहुने राष्ट्र बैंकले जनाएको हो। जसलाई नेपालमा गैरकानूनी मानिन्छ। क्रिप्टोकरेन्सी, एनएफटी, नेटवर्क मार्केटिङ र हाइपर फण्डलगायतमा लगानी गर्नुलाई राष्ट्र बैंकले गैरकानूनी हुने उल्लेख जनाएको छ।
यस्ता डिजिटल एसेट्सहरुमा लगानी गर्दा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापका मुद्दामा कारबाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ। यसबाहेक ठगी, कर छली, सट्टेबाजी लगायतमा पनि सलंग्न नहुन राष्ट्र बैंकले सचेत गराएको छ।




