
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीमा दिएको जस्तो सुविधा दिन नसकिने बताएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान) ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले कोरोनाको समयमा कर्जा भुक्तानी गर्न सहज होस् भनेर पुनर्तालिकीकरण, पुनसंरचना, पुनर्कर्जा, व्यवसाय निरन्तरता कर्जा लगायतको सुविधा दिइएपनि आगामी दिन त्यस्तो सुविधा दिन नसकिने बताए ।
‘कोरोनाको समयमा राष्ट्र बैंकले दिएको सुविधाको ऋणीले दुरुपयोग गरे । बैंकले पनि कर्जा दुरुपयोग गर्नेमाथि कुनै एक्सन लिएन’ अधिकारीले भने, ‘जसले गर्दा अहिले समस्या देखिएको हो । केही व्यवसायीले अहिले पनि विगतको जस्तै सुविधाको अपेक्षा गरेका छन् । तर, व्यवसायीलाई सुविधा दिने नीतिले बैंकलाई कति असर गर्छ भनेर हामी सुक्ष्म रुपमा हेर्छौं ।’
एउटालाई सहुलियत दिँदा अर्को पक्षलाई समस्यामा पार्न नहुने अधिकारीको भनाइ छ । बजेटले लिएको आर्थिक वृद्धि, मूल्य वृद्धिलाई न्यून गराउन सहयोग हुने गरि मौद्रिक नीति आउने उनले बताए । सरकारले लिने नीति पूरा गर्न कति मौद्रिक नीति विस्तार गर्ने भनेर ध्यान दिने उनले बताए ।
गभर्नर अधिकारीले माइक्रो फाइनान्सले गरेको योगदानलाई सडक आन्दोलन हुँदैनमा बिर्सन नसकिने बताए । उनले ऋण लिएपछि सबैले तिर्नुपर्ने अधिकारीले बताए । कसैले पैसा तिर्नुपर्दैन कि भनेर सोच्न नमिल्ने बताए ।
बैंक तथा वित्तीय संस्थामा जारी मर्जरले राम्रो नतिजा देखाएको गभर्नर अधिकारीको भनाइ छ । उनले राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न नचाहेको बताए ।



