
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकबाट निश्चित अवधिको लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जा नै पुनरकर्जा हो । नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ चैत मसान्तमा पाँच अर्ब ७७ करोड रुपैयाँ रहेको छ । २०७९ चैत मसान्तमा एक लाख ४७ हजार ८०७ ऋणीलाई प्रवाह भएको दुई खर्ब पाँच अर्ब ११ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार दुई सय ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ७५१ महिला उद्यमीलाई प्रवाह भएको ६२ अर्ब २८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ८५६ ऋणीको तीन अर्ब १८ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु–याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ चैत मसान्तमा ६५ करोड ८७ लाख रुपैयाँ बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जामा पहुँच नपुगेको तथा सरोकारवाला पक्षले यसको उपभोग गर्न नपाएको आमगुनासोलाई मध्यनजर गर्दै सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रमलाई पुनर्संरचना गरिने भएको छ । उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्धन, उद्यमशीलता विकासलगायतका उद्देश्य राखी सहुलियतपूर्ण ब्याजमा प्रवाह भइरहेका कर्जाको प्रभावकारिता अध्ययनका आधारमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रमलाई पुनर्संरचना गरिन लागेको हो ।
नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई तोकिएका शर्तहरुको अधीनमा रही पुनरकर्जा सुविधा उपलब्ध गराउँदछ ।
(१) साधारण पुनरकर्जा :
(क) जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले संचालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक ३.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ । यस्तो पुनरकर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिइने छ । (उत्पादनमूलक उद्योग भन्नाले चुरोट, विडी, सिंगार, सूर्ती, खैनी लगायत सूर्तिजन्य उद्योग र मदिरा तथा मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगहरुलाई जनाउने छ ।)
(ख) पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल स्थापना गर्न प्रदान गरिएका असल कर्जाको सुरक्षणमा वार्षिक ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ग) साधारण पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७.० प्रतिशतभन्दा बढी ब्याज लिन पाईने छैन ।
(२) विशेष पुनरकर्जा
(क) नेपाल सरकारबाट तोकिएका रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारीको लागि प्रवाह भएको कर्जाको धितोमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ख) अष्ट्रिच पालन, अलैंची खेती र मौरी पालन गरी निर्यात गरेमा निर्यात बराबरको रकम नबढ्ने गरी असल कर्जाको धितो सुरक्षणका आधारमा वार्षिक १ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ग) दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा संचालित साना व्यवसायमा प्रदान गरिएको असल कर्जाको धितो सुरक्षणमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(घ) विशेष पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन्।
(३) निर्यात पुनरकर्जा
(क) निर्यात व्यवसायी फर्म÷कम्पनीलाई निर्यात सम्बन्धी कागजातको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवद्र्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक १.० प्रतिशत दरमा निर्यात पुनरकर्जा उपलब्ध गराइने छ ।
(ख) निर्यात पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाईने छैन ।
(ग) निर्यात अन्तर्गत विदेशबाट विदेशी मुद्रा आम्दानी भएको अनुगमन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नु पर्नेछ । साथै यस्तो भुक्तानी प्राप्त भएको मितिले चार कार्यदिनभित्र पुनरकर्जाको साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी गर्नु पर्नेछ ।
घ) निर्यात पुनरकर्जाको हकमा म्भझभम भ्हउयचतभच भई उत्पादन कार्यमा समेत संलग्न भएको खण्डमा उत्पादन कार्यमा लिएको कर्जा वा निर्यातको लागि लिएको कर्जा मध्ये कुनै एक तहको कर्जामा मात्र निर्यात पुनरकर्जा उपलब्ध गराइने छ ।
(४) साना तथा मझौला उद्यममा पुनरकर्जा
(क) परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित रू १५ लाखसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २.० प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने छ ।
(ख) यस्तो पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ५.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।
(५) “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि बमोजिम पुनरकर्जा सुविधा उपलब्ध गराउने छ ।
(६) पुनरकर्जाका शर्तहरु
(१) रुग्ण उद्योगलाई प्रवाह हुने पुनरकर्जा बाहेक अन्य पुनरकर्जा सुविधा असल कर्जाको धितोमा प्रदान गरिने छ ।
(२) केन्द्रीय बैंकबाट प्रवाह हुने कुल पुनरकर्जा सुविधाको सीमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशत भन्दा बढी हुने छैन ।
(३) पुनरकर्जा सुविधा उपयोग गर्ने बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा वापत यस बैंकको नाममा तोकिएको ढाँचाको तमसुक गरिदिनु पर्नेछ ।
(४) पुनरकर्जा सुविधामा तोकिएको भुक्तानी अवधि अघि नै पूर्व–भुक्तानी हुन सक्ने छ । पुनरकर्जा भुक्तानी गर्दा साँवा र ब्याज सहित भुक्तानी गर्नु पर्नेछ । यस बैंकले ऋणी बैंक वा वित्तीय संस्थाको खाता खर्च म्भदष्त गरी रकम असुल उपर गर्न सक्ने छ । तोकिएको अवधिमा सावाँ÷ब्याज असुल उपर हुन नसकेमा तीन प्रतिशत पेनाल ब्याजदर कायम गरी असुल गरिने छ ।
(५) पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ । एक पटक लिएको पुनरकर्जा चुक्ता गरिसकेपछि मात्र पुनः पुनरकर्जा माग गर्न सकिनेछ ।
(६) पुनरकर्जा सुविधा प्राप्त गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको मासिक विवरण महिना समाप्त भएको मितिले १५ दिनभित्र केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ ।




