Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा १३ प्रतिशतले वृद्धि

२०८० जेष्ठ २८ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा निरन्तर बढ्न थालेको छ । गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमध्ये मुद्दती निक्षेपको हिस्सा ६० प्रतिशत पुगेको छ । पछिल्लो डेढ वर्षमा यस्तो हिस्सा करिब १३ प्रतिशत बिन्दुले बढेको छ । ०७८ असारमा कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ४७ प्रतिशत थियो ।

अघिल्ला वर्षहरूमा प्रायः कुल निक्षेपमा मुद्दतीको हिस्सा ४५ देखि ५० प्रतिशत हाराहारीमा रहँदै आएकामा चालु आर्थिक वर्षमा बढेर ५० प्रतिशतभन्दा माथि पुगेको हो । पछिल्ला महिनामा यस्तो हिस्सा बढेर गत वैशाखसम्म ६० प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ । मुद्दती निक्षेप बढिरहँदा साधारण बचतको हिस्सा भने घटिरहेको छ । यसबाट बचतकर्ताले साधारण निक्षेपमा राखेको रकम मुद्दतीमा परिवर्तन गरेको पुष्टि हुने जानकारहरू बताउँछन्  । जब कि ०७५ असारमा कुल निक्षेपमा मुद्दती निक्षेको हिस्सा ४४.८ प्रतिशत थियो ।

खासगरी कोभिड संक्रमण सकिन थाले पनि (असोज ०७८ पछि) निरन्तर रूपमा ब्याजदर बढ्न थालेसँगै कुल निक्षेपमा मुद्दतीको हिस्सा पनि बढ्दै गएको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताए ।

ब्याजदर पनि धेरै भएको र छोटो अवधि (तीन महिना, ६ महिना आदि) को पनि निक्षेप राख्न मिल्ने भएपछि मुद्दती निक्षेप बढेको उनको भनाइ छ । गत मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ३३ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

कुल निक्षेपमध्ये मुद्दतीको हिस्सा ३३ खर्ब १९ अर्ब रुपैयाँ छ । बाँकी निक्षेप साधारण बचत, चल्ती र अन्य खातामा देखिन्छ । कुल निक्षेपमा मुद्दतीको हिस्सा बढ्नुको मुख्य कारण उच्च ब्याजदर र लगानीका अन्य क्षेत्र (घरजग्गा, सेयर, सुन आदि) को कारोबारमा सुस्तता पनि भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए ।

गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती खातामा रहेको बचतको हिस्सा ७, साधारण बचतको २५.८ र मुद्दती निक्षेपको हिस्सा ६० प्रतिशत छ । अघिल्लो चल्ती बचतको ८.५, साधारण बचतको २८.१ र मुद्दतीको ५६.५ प्रतिशत थियो ।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । गत चैतमा बैंकहरूले व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत मुद्दतीमा ९ प्रतिशत दिँदै आएका थिए । केही महिनाअघिसम्म वाणिज्य बैंकहरूले नै मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए ।