June 10th, 2023

बैंकको जागिरः ‘आजभोली म डिप्रेशनमा छु’

गणेश प्रसाद न्यौपाने

मैले बैंकको जागिर खाएको आज ठ्याक्कै तीन वर्ष पूरा भयो । मैले कमाएर कुनै पनि पैसा लगानीमा हाल्न पाएको छैन । पछिल्लो दुई वर्षमा मेरो तलब एक रुपैयाँ पनि बढेको छैन तर मेरो कोठाको भाडा ३ हजार देखि ६ हजार पाँच सयको हाराहारी पुगेको छ ।

मैले दिनहुँ प्रयोग गर्न बजारका सामग्री कहिले सुनको भाउमा किन्ने गरेको छु, त कहिले पेट्रोलको भाउमा किनेको छु । खाने तेलकै कुरा गर्दा १ सय ६० देखि ३ सय १० रुपैयाँसम्म लिटरको खाएर चलिरहेछु । अफिसकै कुरा गर्दा टार्गेट चार गुणा बढ्दो स्थितिमा छ । अफिसकै कुरा गर्दा पहिला बैंकको काम आरामदायी थियो ।

ग्राहक आफैँ आउँथे, प्रतिस्पर्धा छैन, को स्थितिमा थियो । सबै बैंक आफैँमा फरक जस्तै थिए । ग्राहकले आफैँ खोज्दै बैंकसम्म आउँथे । सरल सुविधाका हरेक बस्तुहरु सहजै ग्राहकहरुले प्रयोग गरिदिन्थे तर अहिले स्थिति फरक छ । ग्राहक बैंक आउँदैनन् । हामी ग्राहकको घर–घर पुग्नुपर्छ । बढीभन्दा बढी सुविधाका बस्तुहरु ग्राहकले जतिनै गर्दा समेत प्रयोग गर्न हानाकानी गर्छन् ।

प्रतिस्पर्धाले बजार भरिएको छ भने टार्गेटहरु आफैँमा अत्यधिक बढेका छन् । पहिलाको स्थितिमा अहिले चार गुणा बढेको छ । ग्राहकले कर्जा लिने र तिर्ने गर्थे पहिला भने कहिले कर्जामा त झन् समस्या देखिएका छन् । स–साना वित्तीय संस्थामा त ऋणी ऋण लिएर फरार छन् । जसको मारमा कर्मचारीले विभिन्न किसिमले समस्या भोग्नु परेकै छन् ।

चट्ट हेर्दा सट पाइन्ट कोट टाइमा सजिएर बस्ने कर्मचारी अनुहार हेर्दा सबै कुराको भरिपूर्ण लाग्छ । अझ यो गर्मीको समयमा त बैंक भन्या गर्मीको समयमा जानै पर्न ठाउँ जस्तै छ । तर त्यही सित्तलमा पसिना निक्लने खालका कर्मचारीका पीडाहरु सायदै बाहिरी समाजले बुझ्नै सक्दैन ।

तपाइलाई के लाग्छ ! बैंकको एउटा साधारण कर्मचारीले कतिको तलब भत्ता खान्छ ? के लाख होला ? के ६०-७० हजारको हाराहारी होला ? तर बैंक अनुसार सेवा सुविधा त विरलै छन् जुन सेवासुविधा कल्पनाभन्दा बाहिरका छन् त्यस्तै सेवा सुविधासहित बैंकको काम झन-झन जटिल बन्दै गएको पनि छ ।

एउटा बैंकको नियमित कार्यालय सञ्चालन विभागमा कार्यरत कर्मचारी समेत विभिन्न ठूला ठूला मानसिक समस्यामा परेको घटना अहिले बाक्लै सुन्न पाइन्छ । कयौं कर्मचारी विदेश जाने होडबाजीमा समेत पाइन्छ । यहाँ सहज भएर पक्कै पनि विदेश जाने होडमा कोहि हुँदैन होला ?,

केही भएरै त यो एसी सहितको इज्जत पाउने काम छोडेर विदेश जान बाध्य छन् मान्छे । अहिले बैंक आफैंमा प्रतिस्पर्धात्मक छ । यहाँ हरेक बैंकिङ संस्था एक अर्कासँग तुलना र लडाईं गरिरहेका छन् । जहाँ सुविधाजन्य बस्तु तथा सेवा उत्पादन र बिक्रीको होडबाजी चलिरहेकै हुन्छ । जसमा खाता खोल्न देखि लिएर क्रेडिट कार्ड एटिएम कार्ड मोबाइल बैंकिङ क्युआर जस्ता सेवा लाई प्रोत्साहन तथा बिक्री गरि विभिन्न माध्यमबाट खाता तथा डिपोजिट बढाइ अत्यधिक ग्राहक पुर्‍याउने होडमा बैंकहरु लागेका छन् ।

जसले गर्दा प्रतिस्पर्धा पनि अत्यधिक छ । बिहान ९ बजे गएको कर्मचारी साझ ८-९ बजेसम्म कहाँ छन् भन्नु नै हुन्न अफिस गए भेटिन्छ । उसको बाहिरी दुँनियानै छैन भन्दा हुन्छ । आफ्नै समूहमा रहेर काम गरिरहँदा एकोहोरो हुने, अरुसँग मिल्न नसक्ने खालको समेत व्यवहार देखिने रहेछ । अरु दिन ११-१२ घण्टा काम गर्दा समेत काम नसके शनिबार तथा सार्वजनिक बिदामा काम गर्न पर्ने । तर सुविधा छ त्यही मासिक तलब दसैँ भत्ता अनि बोनस । अनि भनिन्छ यत्रो पाउँदा पनि के पुग्दैन । वर्र्षको अधिकांश समय बैंकलाई दिएर आएको बोनस होला केही बच्छे भने बच्ने नत्र त उहीँ हो खायो बस्यो । खायो बस्यो भन्दा मलाइ मेरै दाजुले भनेको कुरा एउटा याद आउँछ, ‘खाने बस्ने हो भने त गाउँ जा भैंसी पाल बाख्रा पाल त्यता केही बढी होला ? ’

हुन पनि हो, न कमाएर आमालाई केही दिन छ, न आफुलाई केही किन्न छ, न परिवारलाई सघाउ गर्न छ त न भविष्यको लागि केही बचेको छ । खानी बस्ने त मैले केही नगर्दा पनि गरेकै थिए त । आखिर बैंकको जागिरबाट केही परिवर्तन भयो त ?, मेरो लगाइ खुवाइ फरक भए होला ?, केही साथी र चिनजान फरक भए होला ?, नत्र भने त परिवार भन्दा बाहिरको संसारमा एक्लै न बचत छ ?, न मन खुसी मात्र चलिरहेछ भन्न । घर बुबाले पैसा मागे छैन, आमाले मागे छैन। दिदीबहिनीले भने छैन नै हो उत्तर । भएर नदिएको हैन ?, त्यो आफुलाई थाहा छ तर अरुले त भएर नदिएको हो, पैसा लुकाएर राखेछ, बिहेको लागि साचेछ, आफैंले कता लगाएछ यहि सोचेका हुन्छन् ।

पैसा बचत छैन न मन खुसी छ । उदास छ मन अनि कसरी म खुसी हुन सक्छु । कहिलेकाही त लाग्छ यो संसारबाट टाढा जाउ न पैसा बचत छ न मन खुसी छ । यहाँ दुनियाँलाई कमाएर लुकाएछ भन्ने सोच अझैं किन बनाइ राखौं लाग्छ ।

अनि फेरि सोच्छु गर्दै जाउ कस्सो नहोला । यो मन खुसी त छैन तर आशै आशामा मनलाई सम्हाल्यो फेरि उहीँ सोच्छ । न खाना खान मन लाग्छ न निन्द्रा गतिलोसँग लाग्छ । मन मा एक किसिमको छरपटी नै छ । कसैसँग बोल्न मन लाग्दैन आफ्नो मान्छे कोहि होला जस्तो नि लाग्दैन । म कसरी भनौं काम गरेर बचत नहुँदा म डिप्रेसनमा छु न बचाउन सकेको छु पैसा न पचाउन सकेको छु यो डिप्रेसन । आफैंसँग आफ्नै लडाईं आखिर कहिलेसम्म ?