Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तरलताको संकट समाधानतिर, कर्जा बढाउँदै बैंकहरु, लगानी बढाउँदै राष्ट्र बैंक

२०८० जेष्ठ २३ गते


बैंकिङ खबर/विगत लामो समयदेखि देखिएको तरलता संकट समाधानतर्फ उन्मुख भएको देखिन्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाउन थालेका छन्। आर्थिक वर्षका सुरुवातदेखि नै कर्जा प्रवाहमा सुस्त रहेको बैंक तथा वित्तीय संस्थाले बल्ल कर्जा प्रवाह बढाउन थालेका हुन्।

पछिल्लो एक दिनमै वित्तीय संस्थाबाट ३ अर्ब रुपैयाँ लगानी भएको छ । इहि जेठ १५ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ४८ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा एकैदिन अर्थात जेठ १५ गतेसम्म आइपुग्दा ३ अर्बले बढाएर ४८ खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकहरुले मात्रै सोही दिन २ अर्ब कर्जा प्रवाह गरेका हुन्।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह बढ्दा निक्षेप भने घटेको छ । सोही एकै दिन बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब रुपैयाँ निक्षेप घटेको छ।

जेठ १५ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप एकैदिन अर्थात जेठ १६ गतेसम्म आइपुग्दा ७ अर्बले घटेको छ। सोही दिन वाणिज्य बैंकहरुको मात्रै निक्षेप ४ अर्ब रुपैयाँ घटेको छ। निक्षेप घट्दा यता बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४.७४ प्रतिशतमा पुगेको छ।

चालु आर्थिक वर्षको सुरुमा ९० प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८४ प्रतिशतमा झरेको छ। सीडी रेसियोलार्य हेर्दा बैंक तथा वित्तीय संस्था करिब ५ प्रतिशत लगानी गर्न सक्ने अवस्थामा देखिन्छन्। जेठ १६ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको नौ महिनासम्मको तथ्यांक अनुसार तरलता व्यवस्थापनका लागि रिपोमार्फत रु.४१३ अर्ब ९४ करोड, सोझै खरिद बोलकबोलमार्फत रु.८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२६ अर्ब ८१ करोड र ओभरनाइट तरलता सुविधा रु.१२१८ अर्ब ६३ करोड गरी कुल रु.४४४९ अर्ब ९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत रु.५ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.६१८२ अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २७ करोड खुद खरिद गरी रु.५५७ अर्ब ८१ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ६८ करोड खुद खरिद गरी रु.२०३ अर्ब ९ करोड तरलता प्रवाह गरिएको थियो। ड छज्ञ। समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ५४ करोड बिक्री गरी रु.४६२ अर्ब १४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ५० करोड बिक्री गरी रु.४१९ अर्ब १८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

केन्द्रीय बैंकले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधारसँगै तरलता व्यवस्थापन सहज भए तापनि अन्तर्राष्ट्रिय परिवेशका कारण मूल्यस्थितिमा परेको दबाब भने अझै कायम रहेको बताउँदै आएको छ ।

केन्द्रीय बैंकले भनेको छ,‘गत वर्षको तुलनामा व्यापार घाटामा केही कमी आएको, विप्रेषण प्रवाहमा वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारका कारण शोधनान्तर स्थिति पनि बचतमा रहन थालेकोले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्रलगायत बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार आएको देखिन्छ ।’

आन्तरिक ऋण थप्दा तरलतामा चाप

यता सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण धेरै उठाउने कार्यक्रम ल्याएको छ। योसँगै बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) मा फेरि चाप पर्ने देखिएको छ ।

चालु आवमा समेत तरलता संकटमा फसेको बैंकिङ प्रणाली विस्तारै माथि उठ्दै गर्दा सरकारले आगामी वर्ष आन्तरिक ऋण उठाउन थप बल गरेपछि पुनः तरलतामा चाप पर्ने देखिएको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको आगामी वर्षको बजेटमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखिएको छ । महतले वैदेशिक ऋणबाट भने २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ ल्याउने लक्ष्य राखेका छन् । वैदेशिकभन्दा आन्तरिक ऋण बढी उठाउने लक्ष्यले बजारमा तरलतामाथि ठूलो चाप पर्ने सरोकारवालाहरु बताउँछन् ।  नेपालको बैंकिङ प्रणाली पटक–पटक पैसाको अभावमा गुज्रिएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीसरकारले आन्तरिक ऋण उठाएर बजेटको स्रोत व्यवस्थापन गर्न खोज्दा फेरि तरलता अभाव हुने चिन्ता व्यक्त गर्छन् । उनले यस्तो अवस्थामा अर्थतन्त्रमा सुस्तता आउने समेत बताए ।

पुँजीगत खर्च हुन नसक्ने मुलुकको समस्याका कारण तरलतामा दबाब सिर्जना हुने उनको बुझाइ छ । जसका कारण ब्याजदर बढ्न गई निजी क्षेत्रमा जाने कर्जा घट्ने उनले बताए ।

बैंकिङ तरलता के हो ? तरलताको प्रभाव कस्तो हुन्छ ?

कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।

तरलताको आवश्यकता किन पर्छ ?

मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यसैले, कमजोर तरलताले धेरै किसिममा समस्या निम्त्याउन सक्छन् ।

तरलता मूल्याङ्कनको परम्परागत विधि

व्यावसायिक इकाइहरूले तरलताको अवस्था मूल्याङ्कका लागि दुई मुख्य आधारहरूलाई लिने गरेका छन् । यी आधारहरूमध्ये एक चालू अनुपात वा करेण्ट रेसियो हो भने अर्काे क्विक रेसियो । करेण्ट रेसियो कुल चालू सम्पत्तिलाई कुल चालू दायित्वले भाग गरेर निकालिन्छ । चालू सम्पत्ति भन्नाले ती सम्पत्तिलाई बुझाउँछ, जुन १ वर्ष वा १ कार्य वर्ष (जुन समयावधि लोमो हुन्छ)भित्र रकममा परिवर्तन गर्न सकिन्छ ।

चालू सम्पत्तिमा नगद, बैङ्कमा रहेको नगद मौज्दात, प्राप्त हुनुपर्ने रकमहरू (एकाउण्ट रिसिएबल)लगायत पर्छन् । त्यसैगरी, चालू दायित्व भनेको त्यस्ता तिरोहरू हुन्, जुन १ वर्ष वा १ कार्य वर्षमा भुक्तान गरिसक्नुपर्छ । सिद्धान्ततः २ बराबर १ अनुपातमा रहने करेण्ट रेसियो सन्तोषजनक र राम्रो मानिन्छ । यसले चालू दायित्वको तुलनामा कम्पनीको चालू सम्पत्तिमा दोब्बर बढी पूँजी रहेको देखाउँछ । यद्यपि, व्यावहारिक दृष्टिकोणले कम्पनीको स्तरीयताको आधारमा तरलताको मूल्याङ्कन हुनुपर्ने सुझाव दिइन्छ ।

करेण्ट रेसियोको तुलनामा क्विक रेसियो तरलता मूल्याङ्कनका लागि अझ बढी उपयोगी मानिन्छ । करेण्ट रेसियोको मूल्याङ्कनमा हुने मुख्य त्रुटि भनेकै यसले इन्भेण्ट्री र अग्रिम चुक्ता खर्चलाई पनि तरलताको मूल्याङ्कनको क्रममा प्रयोग गर्छ । जब कि, वास्तवमा यी दुईलाई तरल सम्पत्तिको रूपमा कमै लिइन्छ । यी दुईलाई क्विक रेसियोमा प्रयोग गरिँदैन । किनकि, क्विक रेसियो तरल सम्पत्तिलाई चालू दायित्वले भाग गरेर निकालिन्छ । इन्भेण्ट्री र अग्रिम चुक्ता खर्चबाहेकका चालू सम्पत्तिलाई मात्र तरल सम्पत्तिको रूपमा क्विक रेसियोले हिसाब गर्छ । क्विक रेसियो १ भए राम्रो मानिन्छ । तर कम्पनीको स्तरीयताको आधारमा तरलताको मूल्याङ्कन गर्ने कुरा भने ध्यानमा राखी राख्नुपर्दछ ।  

तरलता मूल्याङ्कनको वैकल्पिक विधि

परम्परागत मूल्याङ्कन विधिलाई मात्र लगानीकर्ताले अनुसरण गर्नु हुँदैन । तरलताको मूल्याङ्कनमा वैकल्पिक विधिलाई पनि प्रयोग गर्नु राम्रो हुन्छ । यसका लागि दीर्घकालीन ऋणबाट खुद स्थिर सम्पत्ति घटाएपछि खुद सञ्चालन पूँजीले भाग गरेर तरलता निकालिन्छ  ।

दीर्घकालीन ऋण चुक्तापूँजी र ननकरेण्ट लायबिलिटिज जोडेर निकालिन्छ । खुद स्थिर सम्पत्ति निकाल्न कुल स्थिर सम्पत्तिबाट सञ्चित ह्रासकट्टी खर्च घटाएर निकालिन्छ । खुद सञ्चालन पूँजी कुल चालू सम्पत्तिबाट कुल चालू दायित्व घटाएर निकालिन्छ । नगद मौज्दातलाई कुल चालू सम्पत्तिको रूपमा भने लिइँदैन । दीर्घकालीन ऋण भने खुद स्थिर सम्पत्तिभन्दा धेरै हुनुपर्छ भने कुल चालू सम्पत्ति (नगद मौज्दातबाहेक) पनि कुल चालू दायित्वभन्दा धेरै हुनुपर्छ ।

केही भने क्यास रेसियोबाट पनि तरलताको मूल्याङ्कन गर्छन् । क्यास रेसियो कुल नगद र नगदजस्तै क्यास सम्पत्तिको योगलाई कुल चालू दायित्वले भाग गरेर निकालिन्छ । तर पनि तपाईंको विश्लेषण यतिमै मात्र सीमित भने हुनुहुँदैन । यदि कुनै कम्पनी तरलता समस्यामा रहेको छ भने यस्तो किन भएको छ र यसमा कसरी अघि बढ्न सकिन्छ, हेर्नुपर्ने हुन्छ ।