
बैंकिङ खबर/ एक दर्जन वाणिज्य बैंकको प्राथमिक पुँजी अनुपात (सीसीएआर) १० प्रतिशतभन्दा कम रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म प्रभु बैंक, एनआईसी एशिया बैंकसहित १२ वाणिज्य बैंकको प्राथमिक पुँजी १० प्रतिशतभन्दा कम छ।
यस्तै सानिमा बैंक, प्रभु, सनराइज, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी, कुमारी, माछापुच्छ्रे, एनआईसी एसिया, नेपाल एसबीआई र हिमालयन बैंक पनि यो सूचीमा छन्। केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी (क्यापिटल कन्जरभेसन बफर) गरी ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ। जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो।
यस्तो अनुपात बैंकहरूले दैनिक रुपमै कायम गरेर व्यवसाय गर्नुपर्ने हुन्छ। यस्तै मासिक रूपमा राष्ट्र बैंकमा यसको रिपोर्टिङ गर्नुपर्ने हुन्छ। त्यही व्यवस्थाअनुसार प्राथमिक पुँजी ८.५ प्रतिशत पु¥याउन नसकेका बैंकहरूलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदै आइरहेको छ।
गत वर्षको नाफाबाट एनआईसी एशिया, लक्ष्मी, माछापुच्छ्रे र सनराइज बैंकको लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको थियो। गत वर्ष यी चार बैंकको सीसीएर ८.५ तल आएका कारण लाभांश वितरणमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ। कुनै पनि त्रैमासिकसम्म सीसीएआर ८.५ प्रतिशत तल आए सो बैंकलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गरेको छ।
चैत मसान्तमा औसतमा वाणिज्य बैंकको सीसीएआर १० प्रतिशत छ। पुस मसान्तमा १३ प्रतिशत र असोजमा १३.४५ प्रतिशत थियो। २०७९ चैत मसान्तमा एनआईसी एशिया बैंकको सीसीएआर ८.८५ प्रतिशत छ। असोज र पुषको तुलनामा बैंकको सीसीएआर घटेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले गत वर्षको नाफाबाट माछापुच्छ्रे बैंकको लाभांश वितरणमा पनि रोक लाग्ने भएको छ। चैत मुान्तमा माछापुच्छ्रे बैंकको सीसीएआर ८.७० प्रतिशत रहेको छ।
लक्ष्मी बैंकको सीसीएआर ९.२७ प्रतिशत, सनराइज बैंकको सीसीएआर ९.५९ प्रतिशत, सिद्धार्थ बैंकको ८.९५ प्रतिशत, सानिमा बैंकको ९.४४ प्रतिशत र कुमारी बैंकको ९.०१ प्रशित छ। प्रभु बैंकको ९.६१ प्रतिशत, सिटिजन्सको ९.६७ प्रतिशत, कुमारी बैंकको ९.०१ प्रतिशत, नेपाल एसबीआईको ९.९९ प्रतिशत र हिमालयन बैंकको ९.५ प्रतिशत छ। अन्य वाणिज्य बैंकहरुको सीसीएआर १० प्रतिशतमाथि नै छ।




