
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको उपयोगिताको अध्ययन गर्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले आवेदन दिन योग्य इच्छुक परामर्शदाता फर्मलाई बोलपत्र आह्वान समेत गरेको छ ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले अहिलेसम्म ऋणको उपयोगिताका बारेमा अध्ययन नभएको र अब सुष्म रुपमा अध्ययन गरिने बताए । पछिल्लो समय यसबारे सरोकारवालाबाट अर्थतन्त्रमा उपलब्धि नदेखिएको गुनासो आएकाले यसबारे योग्य परामर्शदाताबाट अध्ययन गर्न खोजिएको हो।
कतिपय उद्योगी तथा व्यवसायीले एक शीर्षकमा कर्जा लिएर अर्कोमा लगानी गरिएको चर्चा भएको थियो। धेरैको आशंका अन्य शिर्षकमा कर्जा लिएर घरजग्गा, शेयरमा लगानी गरिएकोे आशंका छ। यसैले राष्ट्र बैंकले पनि कर्जाको दुरुपयोग नहोस् भनेर चालू पुँजी कर्जामा कडाई गरिएको थियो।
केन्द्रीय बैंकमा जनशक्ति कम भएकाले बाहिरी विज्ञ, परामर्शदाता फर्मबाट अध्ययन गर्न लागेको उनले बताए। केन्द्रीय बैंकको सम्पत्ति र सेवा व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै नेपालमा निर्देशित ऋण कार्यक्रमको उपयोगिता र प्रभावकारिताको अध्ययनका लागि परामर्शदाता फर्मलाई आवेदन दिन पुनः अनुरोध गरेको छ।
यो सूचना यसअघि गत चैत १३ गते पनि जारी गरिएको थियो। तर, त्यतिबेलाको आवेदन अवधि ८ महिनाको अवधि राखेर अर्थात् आगामी मंसिरसम्ममा आवेदन दिन सक्ने भनिएको थियो। तर सो आवेदन अवधि लामो भएकाले यसलाई छोट्याउँदै अबको करिब साढे १ महिनाभित्रमा आवेदन दिइसक्न पुनः खुलाएको हो। इच्छुक संस्थाले आगामी असार २१ गते दिउँसो १२ बजेसम्म अनलाईन तथा ई–जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार परामर्श फर्म र प्रमुख कर्मचारीको योग्यता ५० प्रतिशत, अनुभव ४० प्रतिशत र क्षमता १० प्रतिशतको आधारमा आशयपत्र (ईओआई) मूल्यांकन गरिनेछ। ‘ईओआई पास गर्नका लागि न्यूनतम स्कोर ७० तोकिएको छ। ईओआईको मूल्यांकनको आधारमा, प्राविधिक र वित्तीय प्रस्ताव पेश गर्न संक्षिप्त सूची (सर्टलिस्ट) गरिएका फर्मलाई मात्र आमन्त्रित गरिनेछ,’ बोलपत्रमा उल्लेख छ ।




