Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको ब्याजदर ०.२१ प्रतिशतले घट्यो

२०८० जेष्ठ ९ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरूमा यही जेठदेखि कर्जाको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको छ । हरेक महिना ब्याजदर परिमार्जन गर्न पाउने राष्ट्र बैंकको नीति र बैंकहरूको आधार दरमा आएको कमीका कारण जेठदेखि कर्जाको ब्याजदर घट्न थालेको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले भने, ‘यसअघि आधार दरमा आएको परिवर्तनका आधारमा बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रूपमा मात्र कर्जाको ब्याजदर घटबढ गर्न पाउँथे । उक्त व्यवस्था परिमार्जन गरेर मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरूले पछिल्लो तीन महिनाको औसत आधार दरमा आएको परिवर्तनका आधारमा हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यही व्यवस्थाअनुसार बैंकहरूले जेठमै कर्जाको ब्याजदर घटाएका हुन् ।’

जेठदेखि वाणिज्य बैंकहरूमा नयाँ कर्जाको ब्याजदर ०.२१ प्रतिशत विन्दु र पुरानाको ०.१३ प्रतिशत विन्दुले घटेको नेपाल बैंकर्स संघको तथ्यांक छ । पछिल्लो तीन महिना (फागुन, चैत र वैशाख) को औसत आधार दर १०.६४ प्रतिशत छ । यसअघि माघ, फागुन र चैतको औसत आधार दर १०.५९ प्रतिशत छ । यी दुई औसत आधार दरका आधारमा पुराना ऋणीको ब्याजदर औसतमा ०.१३ प्रतिशत विन्दुले घटेको हो ।

यस्तै, गत चैतको तुलनामा वैशाखमा आधार दर ०.२१ प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा नयाँ कर्जाको ब्याजदर घटेको संघले जनाएको छ । बैंकर्स संघले यही जेठमा निक्षेपको ब्याजदर भने स्थिर राखेको छ । गत साउनदेखि यही जेठ २ सम्म वाणिज्य बैंकहरूमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । पछिल्ला केही महिनायता वित्तीय प्रणालीमा तरलताको अवस्था सहज भए पनि बैंक तथा वित्तीय संस्थाले उत्साहजनक रूपमा कर्जा प्रवाह गरेका छैनन् ।