
बैंकिङ खबर/ चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय क्षेत्रबाट १ खर्ब ३४ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हायर पर्चेजमा उक्त कर्जा प्रवाह भएको हो । अघिल्लो आव यही अवधिमा यस्तो कर्जा १ खर्ब ६८ अर्ब रुपैयाँ प्रवाह भएको थियो । अघिल्लो आव भन्दा यस आव यस्तो कर्जा ३४ अर्ब रुपैयाँ कमी हो।
बैंक तथा वित्तीय क्षेत्रले हायर पर्चेज कर्जा व्यक्तिगत र व्यावसायिक हिसाबले दिने गर्छन्। यस्तो कर्जा धेरै मात्रामा व्यावसायिक हिसाबले गएको देखिन्छ। चैत मसान्तसम्म व्यावसायिकतर्फ ९५ अर्ब ४५ करोड ३ लाख रुपैयाँ र व्यक्तिगततर्फ जम्मा ३८ अर्ब ७५ करोड रुपैयाँमात्रै हायर पर्चेज कर्जा गएको देखिन्छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाबाट रियल स्टेटतर्फ चैत मसान्तसम्म २ खर्ब ३९ अर्ब ७० करोड रुपैयाँ बराबर कर्जा गएको छ। अघिल्लो वर्ष चैतसम्म रियल स्टेटतर्फ २ खर्ब रुपैयाँ माथि कर्जा गएको थियो। ब्याजदर महँगो भए पनि समीक्षा अवधिमा ३९ अर्ब रुपैयाँ रियल स्टेट कर्जा गएको छ। रियल स्टेटमा पनि जग्गा खरिद र प्लटिङतर्फ सबैभन्दा बढी १ खर्ब ३८ अर्ब रुपैयाँबराबर कर्जा गएको छ।


