Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

व्यवसायमा मन्दी आयो, लगानी थप्ने आँट नहुँदा व्यवसायीले माग्न छोडे कर्जा

२०८० जेष्ठ ७ गते

बैंकिङ खबर/ व्यवसायमा मन्दी आउँदा पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभरका व्यसायीहरु पसल बेच्ने र पसल नै बन्द गरेर सम्पर्कविहीन हुने क्रम बढ्दै गएको छ ।

विगतमा यस्ता पसल र सटरहरु लाखौं रुपैयाँमा लिएर किनबेच हुने गर्थे तर हाल पसल किन्ने मान्छे नपाउँदा व्यवसाय छाड्नेहरु त्यत्तिकै खाली गरेर हिँडिरहेका छन् ।

कोरोना महामारीपछि सुस्ताएको व्यापारले अहिलेसम्म दिगो गति लिन सकेको छैन । अहिले काठमाडौंका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ । यसले गर्दा व्यवसायबाटै पलायन हुनेहरु बढ्दैछन् ।

व्यवसायमा मन्दी आउँदा व्यवसायीमा लगानी थप्ने आँट छैन । जसका कारण बैंकहरुमा व्यवसायीले कर्जा माग्न पनि छोडेका छन् ।एक वर्षअघि यही समयमा कर्जाको माग उच्च थियो ।

बैंकले सहज रुपमा कर्जा दिन सकेका थिएनन् । व्यवसायी, उद्योगीहरुलाई कर्जा पाउन मुस्किल थियो । तर अहिले बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ, तर कर्जा माग भने न्यून छ । बैंकहरुले कर्जा माग नभएको बताउँदै आएका छन् भने उता उद्योगी–व्यवसायीहरु भने लगानी गर्ने वातावरण नै नभएको बताउँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेसियो निरन्तर घट्दो क्रममा देखिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २ गतेसम्ममा बैंकहरुको सिडि रेसियो ८४.९८ प्रतिशतमा झरेको छ। यसले बैंकहरु अहिले कर्जा लगानी गर्न सहज अवस्थामा रहेको देखाएको छ ।

चालु आर्थिक वर्षको सुरुवातमा तरलता अभावले ९० प्रतिशत हाराहारी रहेको बैंकहरुको सिडि रेसियो अहिले घट्दो क्रममा छ । केहि बैंकको सिडि रेसियो ८० प्रतिशतभन्दा पनि तल झरेको छ ।

बैंकहरुको सिडि रेसियो घट्दै जाँदा बैंकहरुको लगानी गर्नसक्ने पूँजी पनि बढ्दै गएको देखिन्छ । पछिल्लो समय निक्षेप संकलन बढिरहेको भएपनि कर्जा लगानी खासै बढेको छैन । बैंकहरु असुलिमा केन्द्रित भएको कारण अहिले कर्जा लगानी उल्टो घट्दो क्रममा छ ।

बैशाख यता बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ३४ अर्ब रुपैयाँले घटेको छ । जेठ २ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ४८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२ खर्ब ९४ अर्ब रुपैयाँ छ । अहिले सबैजसो बैंकसँग कर्जा लगानीको लागि पर्याप्त रकम छ । तर पनि बजारमा कर्जाको माग भने खासै बढेको छैन् ।

पछिल्लो समय कर्जामा माग न्यून रहेको एक बैंकर बताउँछन् । बैंकहरु कर्जा लगानी गरिरहेका छन् । कर्जाको डिमान्ड कम छ । ब्याजदर अझै घट्ने आशामा हो या अन्य कारण, पछिल्लो समय कर्जाको माग न्यून छ । उनले थपे,‘अहिले पोलिसीमा स्थिरता छैन, जसकारण उद्यमी व्यवसायी आफै पनि ऋण लिएर कारोबार गर्न चाहँदैनन्।’ कर्जा पाउनेबित्तिकै उद्यमी व्यवसायीले उत्साहित भएर कर्जा लिइहाल्नुपर्ने अवस्था पनि नदेखिएको उनी बताउँछन् ।

राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहाल देशमा लगानीयोग्य वातावरण नभएको बताउँछन् । उनी भन्छन्, ‘देशमा लगानीको वातावरण नै छैन । साना व्यवसायीहरु समस्यामै छन् । केहि समय व्यवसायीहरु बैंकको चर्को व्याजका कारण समस्यामा परे । उनीहरुको व्यवसाय खस्कियो । कति व्यवसायी व्यवसायबाटै पलायन भइसकेको अवस्था छ ।’ उनले थपे,‘अहिले व्यवसायीहरु ऋणको व्याज नै तिर्न सक्ने अवस्थामा छन् । न त व्यवसाय गर्ने वातावरण छ ।’

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनील केसी बैंकहरुसँग लगानी गर्ने पैसा हुँदा पनि बजारमा पैसाको माग नभएको बताउँछन् ।
उनी भन्छन्, ‘अहिले मुलुकको अर्थतन्त्रमा सुधार आइरहेको छ । बैंकहरू लगानी गर्न सक्ने अवस्थामा आइरहेका छन्। तर बजारमा माग छैन। कर्जा माग गर्दै नयाँ परियोजनाहरू आएका छैनन्।’