
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै भविष्यमा थप जटिलता आउन सक्ने बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संघ, नेपाल राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘अहिले हाम्रो अर्थतन्त्र धेरै हदसम्म रेमिट्यान्समा भर परेको छ । जसको फलस्वरुप हामी यो वर्ष बाह्य क्षेत्र कम्फटेवल रहेपनि फाइनान्सियल सेक्टरमा रुल्स रेगुलेशनका कारणले हामी सफल छौं । तर पनि भोलीका दिनमा थप चुनौति छन् ।’
यी चुनौतिलाई चिर्नको लागि सजग भएर अगाडि बढेको उनले बताए । कतिपय अवस्थामा मौद्रिक नीति प्रतिको अपेक्षा समाजबाट बढी हुने तर यसका आफ्नै सीमाहरु रहने उनको भनाइ छ ।
‘नेपाल राष्ट्र बैंकको उद्देश्य, यसका आफ्नै लक्ष्य रहेका छन्’ उनले भने, ‘त्योबाट बाहिर जान मिल्दैन । असहज हुन सक्छ । जसले गर्दा वित्त नीति र मौद्रिक नीतिबीचको सामञ्जस्यता जतिबेला पनि आवश्यता रहन्छ ।’ मौद्रिक नीतिलाई नीतिगत अटोनमी जरुरी रहेको पनि उनले बताए ।



