
बैंकिङ खबर/पछिल्लो समय घरजग्गा कारोबारमा बैंकहरुको लगानी बढेको पाइएको छ । चालु आर्थिक वर्ष २०७९÷०८०को चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा कारोबारमा लगानी बढाएका हुन् ।
यस्तै शैक्षिक क्षेत्रमा पनि बैंकहरुको लगानी बढेको पाइएको छ । आर्थिक वर्ष २०८९/०८० को चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १२ लगानी क्षेत्रहरुमा ४८ खर्ब ६४ अर्ब ७९ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ३१ अर्ब ७७ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यस्तै चालु आवको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा पनि घटाएका छन् । आर्थिक वर्षको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले ७५ अर्ब १० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ९४ अर्ब ५९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए। गत वर्षको तुलनामा सेयर धितोकर्जा १९ अर्ब ४९ करोड रुपैयाँ कम हो।
बैंक तथा वित्तीय संस्थाले चैत मसान्तसम्ममा एक करोड माथिको सेयर धितोकर्जा वापत ४३ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरूले ५८ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
त्यसैगरी ५० करोडदेखि १ करोडसम्ममको सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले ११ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष सोही अवधिमा यस्तो कर्जा ११ अर्ब ८६ करोड प्रवाह गरेका थिए। यता २० देखि ५० करोडसम्ममा सेयर धितो कर्जा समेत घटेको छ।
चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले यस्तोमा १२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। २५ लाखसम्मको सेयर धितो कर्जा समेत घटेको छ। चैत मसान्तसम्ममा ६ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरुले ८ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
यस्तै चैत मसान्तसम्ममा शैक्षिक कर्जा र क्रेडिट कार्ड लोन बढेको छ। चैत मसान्तसम्ममा ४२ अर्ब २१ करोड शैक्षिक कर्जा गएको छ। गत वर्ष सोही अवधिमा शैक्षिक कर्जा २२ अर्ब १३ करोड थियो।
गत वर्षको तुलनामा यस क्षेत्रमा कर्जा प्रवाह दोब्बर भएको छ। त्यसैगरी क्रेडिट कार्डमार्फत कर्जा ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकहरुले यसमा ३ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
बैंक तथा वित्तीय संस्थाले घर जग्गामा जाने कर्जा बढाएका छन्। घर जग्गा कारोबारमा वित्तीय संस्थाहरुले २ खर्ब ३९ अर्ब रुपैयाँ प्रवाह गरेका छन्।
गत वर्ष सोही अवधिमा घर जग्गमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
त्यसैगरी वित्तीय संस्थाले चैत मसान्तसम्ममा घर जग्गा (१५ लाख सम्मको व्यक्तिगत घर ऋण बाहेक) ६४ अर्ब ७० करोड कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा यस क्षेत्रमा बैंकहरुले ४८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्रको लगानी बढाएका छन्। गत वर्ष चैत मसान्तमा वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्र २४ अर्ब ८५ करोड गरेको कर्जा प्रवाह यो वर्षको चैतसम्ममा बढेर २८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
अन्य घरजग्गा (जग्गा खरिद र प्लटिङ सहित) क्षेत्रमा १ खर्ब ३४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरुले यस क्षेत्रमा १ खर्ब १८ अर्ब ८ करोड लगानी गरेका थिए।
त्यसैगरी आय उत्पन्न वाणिज्य परिसरमा क्षेत्रको कर्जामा बैंकहरूले ११ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गतवर्ष सोही अवधिमा बैंकहरुले यस क्षेत्रमा ७ अर्ब ६९ करोड लगानी गरेका थिए। यता जग्गा खरिद तथा प्लटिङ क्षेत्रको कर्जामा ३९ अर्ब ३७ करोड, तोकिएको उद्देश्य बिना छ वा सो भन्दा माथिको क्षेत्रमा ६९ अर्ब २९ करोड र अन्य क्षेत्रको कर्जामा २५ अर्ब ५४ करोड कर्जा प्रवाह गरेका छन्।




